बेलायतमा मे महिनाकै सबैभन्दा गर्मी, ऐतिहासिक कीर्तिमान कायम


लन्डन । बेलायतमा यस वर्षको मे महिनामा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम कायम भएको छ । लगातार दोस्रो दिन पनि तापक्रम ऐतिहासिक स्तरमा पुगेपछि नयाँ कीर्तिमान कायम भएको हो । मेट अफिसको तथ्याङ्कअनुसार मंगलबार लन्डनस्थित हिथ्रो एयरपोर्ट र क्यू गार्डेन्स क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेको छ ।
यसअघि सोमबार मात्रै ३४.८ डिग्री तापक्रम मापन भई सन् १९२२ र १९४४ मा कायम रहेको ३२.८ डिग्रीको पुरानो रेकर्ड तोडिएको थियो, तर त्यसको भोलिपल्टै फेरि नयाँ कीर्तिमान कायम भएको हो । मेट अफिसले मे महिनामा लगातार दुई दिनसम्म ऐतिहासिक रेकर्ड तोड्ने गरी तापक्रम बढ्नु असाधारण र दुर्लभ घटना भएको जनाएको छ ।
यति मात्रै होइन, बेलायतले लगातार दोस्रो दिन पनि मे महिनाकै सबैभन्दा तातो रातको नयाँ रेकर्ड बनाएको छ । साउथ लन्डनमा रातिको न्यूनतम तापक्रम २१.३ डिग्रीसम्म पुगेको जनाइएको छ ।
अत्यधिक गर्मी बढेसँगै इङ्ल्यान्ड र वेल्सका ठूलो भूभागमा आधिकारिक रूपमा ‘हीटवेभ’ अर्थात् ‘लू’ को घोषणा गरिएको छ । यद्यपि, बेलायतभर तापक्रममा फरक देखिएको छ । लन्डनमा ३५ डिग्री पुग्दा शेटल्याण्डमा भने ११ डिग्री मात्रै कायम छ ।
चरम गर्मीका कारण जलाशय र समुद्री क्षेत्रमा दुर्घटनाका घटनाहरू पनि बढेका छन् । प्रहरीका अनुसार सोमबार मात्रै वारविक्शायर, वेस्ट योर्कशायर र साउथ योर्कशायरमा पानीमा डुबेर तीन किशोरको ज्यान गएको छ ।
त्यस्तै, कोर्नवालमा आफन्तलाई बचाउने क्रममा ६० वर्षभन्दा माथिका एक पुरुषको समुद्रमा डुबेर मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य अधिकारीहरूले यस्तो चरम गर्मीमा सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् । पर्याप्त मात्रामा पानी पिउन, घामको चर्को तापमा लामो समय बाहिर ननिस्कन र आवश्यक सुरक्षाका उपायहरू अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


