सोमबार, २५ मे, २०२६
22:56 | ०३:४१

लन्डनमा ३४.८ डिग्री तापक्रम, सोमबार मे महिनाकै सबैभन्दा तातो दिन

नेपाली लिङ्क मे २५, २०२६

लन्डन । बेलायतमा यस वर्षको मे महिनामा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम कायम भएको छ ।

सोमबार लन्डनको क्यू गार्डेन्समा तापक्रम ३४.८ डिग्री सेल्सियस पुगेर नयाँ कीर्तिमान कायम गरेको छ, जसले सन् २०१९ मा कायम रहेको ३३.३ डिग्रीको अघिल्लो रेकर्ड तोडेको हो ।

वेल्समा पनि ३२.२ डिग्री पुगेर मे महिनाकै सबैभन्दा बढी तापक्रम कायम भएको छ । मेट अफिसका अनुसार यो गर्मी असाधारण हो, किनकि सामान्यतया मे अन्त्यमा तापक्रम १४–२० डिग्रीको वरिपरि मात्र रहने गर्छ ।

मंगलबार अझै बढेर ३५ डिग्रीसम्म पुग्ने अनुमान छ, भने आइतबार राति पनि लन्डनमा १९.४ डिग्रीसम्म पुगेर मे महिनाकै सबैभन्दा तातो रात कायम भएको थियो । उच्च चापको क्षेत्र र तातो हावाको कारण यस्तो अवस्था आएको बताइएको छ ।

यसैबीच एनएचएस इङ्ल्यान्डका धेरै भागमा ‘एम्बर’ र केही क्षेत्रमा ‘एलो’ गर्मी अलर्ट जारी गरेको छ, जुन बुधबार साँझसम्म लागू रहनेछ । स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा पनि यस वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

बढ्दो गर्मीका कारण करिब ५०० घरपरिवार पानी अभावमा परेका छन् भने कतिपय कार्यक्रम पनि स्थगित वा परिवर्तन गरिएका छन् । तर प्रसिद्ध ‘चीज–रोलिङ’ प्रतियोगिता भने सञ्चालन भएको थियो ।

मौसमविद्हरूका अनुसार मंगलबार साँझ कतिपय ठाउँमा वर्षा र आँधी आउन सक्छ भने बुधबार–बिहीबार फेरि ३० डिग्री नाघ्नेछ । शुक्रबारदेखि भने तापक्रम क्रमशः ओरालो लाग्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू