शनिबार, २३ मे, २०२६
15:53 | २०:३८

बेलायतमा निधन भएका युवाको शव नेपाल पठाउन सहयोग गर्न आग्रह

नेपाली लिङ्क मे २३, २०२६

लन्डन – हालै बेलायतमा निधन भएका युवा सुशील पौडेलको शव नेपाल पठाउन सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ।

लन्डनस्थित द ड्यानिस वाइएमसीएमा बस्दै आएका २६ वर्षीय पौडेलको हालै दुःखद निधन भएको हो । उनको निधनबारे गत अप्रिल २८ तारिखमा प्रहरीमा रिपोर्ट गरिएको थियो। उक्त घटनाबारे हाल कोरोनरको कार्यालयमार्फत अनुसन्धान प्रक्रिया जारी छ।

स्व. सुशील पौडेलकी आमा श्रीमती यशोदा पौडेलले सम्बन्धित निकाय, कानुनी टोली तथा सरोकारवालाहरूसँग समन्वय गरी आफ्नो छोराको शव नेपाल पठाउन सहयोग गरि दिन आग्रह गरेकी छिन।

“अन्तिम पटक छोराको मुख हेर्न र आफ्नो परम्परा तथा संस्कृतिअनुसार अन्त्येष्टि संस्कार सम्पन्न गर्न स्वर्गीय सुशीलकी आमाले आफ्नो छोराको शव नेपाल पठाइ दिन अनुरोध गर्नु भएको छ । विगतमा जस्तै यो मानवीय कार्यमा सक्दो सहयोग गर्न हामी बेलायतस्थित नेपाली समुदाय तथा संघ सस्थालाई हार्दिक अनुरोध गर्दछौं,” गैर आवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष राजेन्द्र पुडासैनीले भने।

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि उनले आग्रह गरे।

स्व. सुशीलका पिता देवराज पौडेलको तीन वर्षअघि नै निधन भइसकेको थियो। सुशील नै परिवारको एकमात्र आर्थिक आधार थिए । उनको निधनको खबरपछि आमा यशोदा पौडेल गम्भीर मानसिक तनाव तथा प्यानिक अट्याकबाट पीडित भएको उनको पारिवारिक सूत्रले जनाएको छ ।

यस दुःखद घडीमा सम्बन्धित सबै निकाय, नेपाली समुदाय तथा सहयोगी मनहरूबाट सक्दो सहयोग र सहकार्यका लागि एनआरएनए युकेले अपिल गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू