शुक्रबार, २२ मे, २०२६
21:03 | ०१:४८

बेलायती रक्षामन्त्रीकै सहभागितामा ८ जुनमा लन्डनमा गोर्खा वार्ता

नेपाली लिङ्क मे २२, २०२६

रक्षामन्त्री जोन हिली

लन्डन- पूर्व ब्रिटिश गोर्खाहरुको मुद्धामा आउँदो जुन ८ तारिख लन्डनस्थित नेपाली दूतावासमा एक निर्णायक स्तरको वार्ता हुने भएको छ । वार्तामा पहिलोपटक बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली स्वयम् सहभागी हुने भएका छन्।

बेलायत सरकारका मन्त्री नै सहभागी हुने भएपछि वार्तामा नेपाल सरकारबाट समेत परराष्ट्रमन्त्री शिशिर खनालले भाग लिने सम्भावना छ। भौतिक रुपमा लन्डन आउन सम्भव नभए ‘भर्चुअल’ रुपमै भएपनि परराष्ट्रमन्त्री खनाल वार्तामा सहभागी हुन सक्ने बुझिएको छ।

गोर्खाहरुको मुद्धामा समाधान खोज्ने प्रयासमा बेलायत तथा नेपालका सरकार र पूर्व गोर्खाका प्रतिनिधिसमेतको सहभागितामा वर्षौंदेखि जारी त्रिपक्षीय वार्ता मन्त्रीस्तरमै हुन लागेको यो पहिलोपटक हो । बेलायती रक्षामन्त्रीका साथमा बेलायत सरकारका भेटेरान मन्त्रीसहितका उच्च अधिकारी वार्तामा आउनेछन् ।

यसअघि मे २० तारिखकै लागि यो वार्ताको तयारी गरिएपनि अहिले बेलायती सहायक मन्त्री सिमा मल्होत्रा नेपाल भ्रमणमा रहेकाले उनी भ्रमण पूरा गरी फर्किएपछिको नयाँ मिति तय गरिएको हो।

प्राविधिक हिसाबले सोही वार्ताबाट सम्पूर्ण मुद्धा एकैचोटि टुंग्याउन सम्भव नभएपनि त्यही जगमा थप छलफल गरी टुंगोमा पुग्ने वातावरण भने बन्न सक्ने आशा गरिएको छ। पहिलोपटक बेलायती रक्षामन्त्री नै बस्ने वार्ता गोर्खा मुद्धा समाधानको प्रक्रियामा एक महत्वपूर्ण कदम बन्न सक्ने विश्वास गर्न सकिन्छ।

यसअघि गोर्खाहरुको मुद्धा सुल्झाउनका लागि पूर्व गोर्खाहरुको तर्फबाट बेलायत सरकारलाई एक सहमतिको प्रस्ताव पठाइएको छ । सोही प्रस्तावमा बेलायत सरकारले जनाउने रेस्पोन्सका आधारमा गोर्खा वार्ताको भविष्य निर्धारण हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू