मंगलबार, १९ मे, २०२६
16:16 | २१:०१

बाल गृहलाई सहयोग जुटाउन लन्डन-पेरिस च्यारिटी साइकलयात्रा गरिंदै

नेपाली लिङ्क मे १९, २०२६

लन्डन- नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुको लागि सहयोग जुटाउन नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) ले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा गर्ने भएको छ।

आगामी ५ जुनदेखि सुरु हुने उक्त यात्रामा क्लबका १८ जना सदस्यले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नेछन्।

क्लबका अनुसार च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह ‘चिल्ड्रेन्स सेल्टर’ लाई सहयोग गरिनेछ।

यात्रामा साइकलयात्रीहरूले उकालो, प्रतिकूल मौसम र शारीरिक थकानको सामना गर्दै लन्डनदेखि पेरिससम्मको यात्रा पूरा गर्ने अठोट व्यक्त गरेका छन् । उक्त बाल गृहमा रहेका २३ जना बालिकाको उज्ज्वल भविष्य निर्माणमा सघाउने उनीहरुको प्रतिवद्धता छ ।

धुलिखेलस्थित बाल गृह सन् २०१४ देखि सञ्चालनमा छ। जहाँ ६ देखि १७ वर्ष उमेर समूहका २३ बालिकालाई सुरक्षित आवास, शिक्षा तथा संरक्षण प्रदान गरिँदै आएको छ। उनीहरुमध्ये धेरैलाई बालश्रम, मानव बेचबिखन तथा सडक जीवनबाट उद्धार गरिएको संस्थाले जनाएको छ।

संकलित रकम बालिकाहरुका लागि पौष्टिक भोजन, पूर्णकालीन शिक्षा, स्वास्थ्य सेवा, भावनात्मक सहयोग, सुरक्षित वातावरण तथा संगीत, कला, नृत्य र खेलकुद गतिविधिमा खर्च गरिने क्लबका एक संयोजक प्रसिद्ध प्रधानले जानकारी दिए।

च्यारिटी साइकलयात्राको संयोजन क्लबका सदस्य एवम् ट्याक्स प्लेटफर्मका निर्देशक रवि रिमालले गर्दैछन् । यात्रामा जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैंजु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समीर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बजिमाया, लक्ष्मण गुरुङ, निक टी, सचिन श्रेष्ठ, प्रगति ओझा, प्रशिधा प्रधान र सुधिर श्रेष्ठ सहभागी रहनेछन्।

क्लबले सबैलाई आर्थिक सहयोगमार्फत अभियानमा साथ दिन अपिल गरेको छ। ५ पाउण्ड सहयोगले एक दिनको भोजन र ५० पाउण्ड सहयोगले एक महिनाको शिक्षामा सहयोग पुग्ने क्लबले जनाएको छ।

च्यारिटी साइकलयात्रामार्फत् बालगृहमा आश्रित बालिकाहरुलाई सहयोग गर्न यो लिंकमा गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू