बेलायतमा रोजगारीका अवसर पाँच वर्षयताकै न्यून

लन्डन । बेलायतमा बेरोजगारी दर अप्रत्याशित रूपमा बढेर ५ प्रतिशत पुगेको छ । अफिस फर नेशनल स्टाटिस्टिक्स (ओएनएस) का अनुसार जनवरीदेखि मार्च २०२६ सम्मको अवधिमा १६ वर्षभन्दा माथिका व्यक्तिहरूको बेरोजगारी दर ५ प्रतिशत अनुमान गरिएको हो । यो अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बढी हो ।
ओएनएसको पछिल्लो तथ्यांकअनुसार बेलायतमा रोजगारी बजार कमजोर बन्दै गएको संकेत देखिएको छ । अप्रिल २०२६ मा पेरोल कर्मचारीको संख्या मासिक रूपमा १ लाखले घटेर ३ करोड २ लाखमा झरेको प्रारम्भिक अनुमान छ । यद्यपि, ओएनएसले अप्रिल महिनाको तथ्यांक प्रारम्भिक भएकाले आगामी महिनामा संशोधन हुन सक्ने जनाएको छ ।
रोजगारीका अवसरमा पनि उल्लेख्य गिरावट आएको छ । फेब्रुअरीदेखि अप्रिल २०२६ सम्म बेलायतमा रिक्त पदको संख्या २८ हजारले घटेर ७ लाख ५ हजारमा सीमित भएको छ । यो सन् २०२१ को फेब्रुअरी–अप्रिलपछिकै सबैभन्दा कम हो ।
तलब वृद्धिदर पनि सुस्तिएको छ । ओएनएसका अनुसार जनवरीदेखि मार्च २०२६ सम्म नियमित आम्दानी (बोनस बाहेक) वार्षिक रूपमा ३.४ प्रतिशतले बढेको छ भने बोनससहित कुल आम्दानी ४.१ प्रतिशतले वृद्धि भएको छ । मुद्रास्फीति समायोजन गरेपछि नियमित तलबको वास्तविक वृद्धि ०.३ प्रतिशत मात्र रहेको छ ।
बेलायती रोजगारी बजारमा आएको यो कमजोरीले सरकार र बैंक अफ इंग्ल्याण्ड दुवैलाई दबाबमा पार्ने देखिएको छ । कामदारको माग घट्दै जाँदा व्यवसायहरूले नयाँ नियुक्तिमा सावधानी अपनाउन थालेको संकेत देखिएको छ ।
ओएनएसले श्रम बजारको छोटो अवधिको परिवर्तनबाट निष्कर्ष निकाल्दा सावधानी अपनाउनुपर्ने जनाएको छ लेबर फोर्स सर्भे (एलएफएस) का केही तथ्याङ्क अझै विकासको क्रममा रहेकाले आधिकारिक तथ्याङ्कको रूपमा प्रयोग गर्दा पेरोल, दाबी संख्या तथा अन्य सूचकहरूसँगै तुलना गरेर हेर्नुपर्ने ओएनएसको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


