ग्रीनवीचमा काउन्सिलर निर्वाचित रानाभाट दम्पतिलाई सम्मान

लन्डन-हालै लन्डनको रोयल ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित जीत रानाभाट र गौमाया गुरुङ रानाभाट दम्पति सम्मानित भएका छन् ।
स्थानीय रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजीएनएस) को आयोजनामा शनिबार प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो ।
आरजीएनएस अध्यक्ष ह्यारी गुरुङको अध्यक्षता र सल्लाहकार श्रीचन्द्र गुरुङको संयोजन तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा साउथ इष्ट लन्डनका करिब दुई दर्जन नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
उनीहरुले ग्रीनवीच बरोको काउन्सिलरमा निर्वाचित भएकोमा रानाभाट दम्पतिलाई बधाईं दिंदै सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा काउन्सिलर तथा पूर्व मेयर जीत रानाभाटले आफूहरुप्रतिको सम्मानको लागि आरजीएनएस र सिंगो समुदायलाई धनयवाद दिए । स्थानीय नेपाली समुदायको हौसला र प्रेरणा नै आफू अघि बढ्ने शक्ति रहेको भन्दै उनले नेपाली समुदायको चासो र सरोकारका मुद्धा सधैं प्राथमिकतामा राख्ने बताए ।
त्यस्तै, लन्डन बरोमै काउन्सिलर निर्वाचित पहिलो नेपाली महिला गौमाया गुरुङ रानाभाटले पनि नेपाली समुदायकै साथ, सहयोगले आफ्नो नयाँ यात्रा सम्भव बनेको बताइन् । उनले समुदायका अरु महिलाहरुलाई पनि सामाजिक र राजनीतिक क्षेत्रतिर सक्रिय बन्न आव्हान गरिन् ।

आरजीएनएस अध्यक्ष ह्यारी गुरुङले ग्रीनवीच बरोको काउन्सिलरमा रानाभाट दम्पति निर्वाचित हुंदा स्थानीय सिंगो नेपाली समुदाय गौरवान्वित भएको बताए । कार्यक्रममा सहभागी सबै संघसंस्था र अभियन्ताहरुलाई उनले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका संयोजक तथा सञ्चालक श्रीचन्द्र गुरुङले रानाभाट दम्पतिको कार्यकाल सफल र प्रभावकारी बन्ने विश्वाससहित शुभकामना दिए । उनले रानाभाट दम्पतिको विजयमा सिंगो नेपाली समुदायको प्रतिनिधित्व भएको बताए।
कार्यक्रममा तमुधिं साउथ इष्ट अध्यक्ष शिवराम गुरुङ बिइएम र श्रीमती विन्दू गुरुङ, बेक्सली नेपाली समाज अध्यक्ष विजिता गौतम र पूर्व अध्यक्ष आनन्द धरेल, फेदिखाला समाज यूके अध्यक्ष हरि गुरुङ, हेल्प नेपाल नेटवर्क अध्यक्ष सचिन श्रेष्ठ, एनआरएनए अभियन्ता चिरञ्जिवी ढकाल, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति र साउथ इष्ट अध्यक्ष सुरोज मास्के, ग्रीनवीच भलिबल परिवारका संरक्षक विनोद ज्ञवाली, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष राममाया विष्ट, एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराई, जिगेसा अध्यक्ष हरिकुमार मल्ल र पूर्व अध्यक्ष लिलादेवी गुरुङलगायतले बधाई तथा शुभकानमा दिए ।
त्यस्तै, नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ, नेपाली राइर्डस क्लबका प्रमुख प्रसिद्ध प्रधान, पत्रकार महासंघ यूके पूर्व अध्यक्ष ध्रुवराज अर्याल, पत्रकार विपिन निरौला, इनास यूके संस्थाक मनिष श्रेष्ठ, भुम्दीकोट समाज यूके अध्यक्ष योगेश गुरुङ, चुत्र श्रेष्ठ, सोपाल समाज यूके उपाध्यक्ष मीना गुरुङ, मम्मीज फोरमकी उषा देउजा, मारिया गुरुङ तिम्सिनालगायतले पनि शुभकानमा मन्तव्य राखेका थिए ।
गत मे ७ मा सम्पन्न स्थानीय निर्वाचनमा जीत रानाभाट प्लम्स्टेड एन्ड ग्लिन्डन वार्डमा दोस्रोपटक तथा गौमाया गुरुङ रानाभाट एबिउड वार्डमा पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


