लन्डन पशुपतिनाथ मन्दिरको ट्रष्टी बोर्ड संयोजक चुनिए नरेन्द्र कंडेल

लन्डन- लन्डन प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको ट्रष्टी बोर्ड संयोजकमा नरेन्द्र कंडेल नियुक्त भएका छन्।
शनिबार सम्पन्न ट्रष्टी बोर्ड बैठकले मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् संस्थापक ट्रष्टीमध्ये एक उनलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो।
२ वर्षे कार्यकालका लागि जिम्मेवारी पाएका कंडेलले यसअघि सन् २०१९ देखि २०२१ सम्म व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
ट्रष्टी बोर्ड संयोजकका रुपमा उनले अब ट्रष्टी बैठक अध्यक्षता गर्ने, एजेन्डा तय गर्ने, व्यवस्थापन समितिसंग समन्वय गर्ने, मन्दिर परिसरमा हेल्थ एण्ड सेफटीदेखि दैनिक अपरेसनसम्मका कार्य नियमित सञ्चालनको लागि वातावरण बनाउनेलगायतका भूमिका निर्वाह गर्नेछन्।
ट्रष्टी बोर्ड संयोजकमा सर्वसम्मत नियुक्त भएपछि कंडेलले मन्दिरलाई थप व्यवस्थित, पारदर्शी र गतिशिल बनाउने प्रतिवद्धता जनाएका छन्।
मन्दिरलाई बेलायतको नियम कानून पालना गरेर सञ्चालन गर्नेे, प्लानिङ पर्मिसनका काम पूरा गर्ने, थप पण्डित व्यवस्थापन गर्ने, मन्दिर खुल्ने समय बिस्तार गर्ने, किचन स्तरोन्नति गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना उनका छन्। ट्रष्टी बोर्डका सबै सदस्य, मन्दिर व्यवस्थापन समिति र सरोकारवाला सबैसंग समन्वय र सहकार्य गर्ने उनले बताएका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले ट्रष्टी बोर्ड संयोजकमा नियुक्त कंडेललाई बधाई तथा शुभकामना दिंदै मन्दिरको विकास र विस्तारमा व्यवस्थापन समितिको साथ र सहकार्य रहने बताए । उनले कार्यकाल सफलतापूर्वक पूरा गर्ने बोर्डका निवर्तमान संयोजक दासुराम पाण्डेलाई धन्यवाद दिए।
यसअघि बोर्डका निवर्तमान संयोजक दासुराम पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा मन्दिर व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष रोमनाथ पाण्डेले प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष रामकृष्ण अर्यालले आर्थिक विवरण पेश गरेका थिए । बैठकको शुभारम्भमा पण्डित निलहरि घिमिरेले स्वस्तीवाचन गरेका थिए।
बैठकमा मन्दिरको व्यवस्थापन र विकाससम्बन्धि कयौं एजेन्डाहरुमा ट्रष्टी बोर्ड सदस्यहरुले छलफल गरेका थिए।
सन् २००३ मा स्थापित पशुपतिनाथ मन्दिर युरोपमै नेपालीहरुबाट निर्मित पहिलो नेपाली मन्दिर हो। मन्दिरको ट्रष्टी बोर्डमा हाल ३१ सदस्य छन्।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


