शनिबार, १६ मे, २०२६
12:53 | १७:३८

बेलायती राजनीतिमा नयाँ मोड: प्रधानमन्त्रीलाई बर्नहामको चुनौती

नेपाली लिङ्क मे १६, २०२६


लन्डन –बेलायतको सत्तारुढ लेबर पार्टी अहिले गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको छ । प्रधानमन्त्री केअर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला एन्डी बर्नहामलाई पुनः संसद फर्काउने तयारीले ब्रिटिश राजनीतिमा ठूलो हलचल सिर्जना गरेको छ ।

मेकरफिल्डका सांसद जोश सायमन्सले उनका लागि आफू राजिनामा दिन तयार रहेको घोषणा गरेसँगै बर्नहामका लागि संसद फर्किने बाटो खुलेको छ ।  सायमन्सले लेबर पार्टी अहिले निर्णायक मोडमा पुगेको र पार्टीलाई फेरि जनतामाझ विश्वासिलो बनाउन नयाँ ऊर्जा आवश्यक भएको बताएका छन् ।

हालै स्वास्थ्य मन्त्रीबाट राजिनामा दिएका वेस स्ट्रिटिङले पनि एन्डी बर्नहामलाई मेकरफिल्ड उपनिर्वाचनको उम्मेदवारका लागि समर्थन गरेका छन् । उनले बर्नहामलाई लेबर पार्टीका मैदानका उत्कृष्ट खेलाडीहरूमध्ये एक भन्दै प्रशंसा गरेका हुन् ।

हाल ग्रेटर म्यान्चेस्टरका मेयर रहेका बर्नहाम लेबर पार्टीका लोकप्रिय नेतामध्ये एक हुन् । विशेषगरी कोरोना महामारीको समयमा म्यान्चेस्टर क्षेत्रका लागि केन्द्र सरकारसँग टक्कर लिएपछि उनको लोकप्रियता झन् बढेको थियो । पार्टीभित्र धेरैले उनलाई ‘वर्किङ क्लास भोटर्स’ लाई पुनः लेबर पार्टीमा फर्काउन सक्ने नेताका रूपमा हेर्छन् ।

बर्नहामलाई संसद फर्काउने प्रयास भने नयाँ होइन । यसअघि जनवरी २०२६ मा गोर्टन एन्ड डेन्टनको उपनिर्वाचनमा उम्मेदवार बन्न खोज्दा उनलाई पार्टीको  राष्ट्रिय कार्यकारी समितिले रोकेको थियो ।

त्यो निर्णयपछि पार्टीभित्र ठूलो विवाद भएको थियो । बर्नहाम समर्थकहरूले स्टार्मर पक्षले जानाजानी उनलाई रोक्न खोजेको आरोप लगाएका थिए । धेरै सांसदले त्यो कदमलाई अलोकतान्त्रिक समेत भनेका थिए ।

तर अहिले भने पार्टीभित्र स्टार्मरको पकड कमजोर बन्दै गएकाले बर्नहामलाई रोक्न गाह्रो देखिन्छ । त्यसैले मेकर्फिल्ड क्षेत्रमा हुने उपनिर्वाचनमा उनी उम्मेदवार हुने लगभग निश्चित छ ।

तर पछिल्लो समय रिफर्म यूकेले निकै लोकप्रियता कमाइरहेको छ । आप्रवासन, महँगी र राष्ट्रिय पहिचानजस्ता मुद्दामा रिफर्म यूकेले धेरै मतदाताको मन जितिरहेका कारण बर्नहामलाई चुनाव जित्न त्यति सहज छैन । तर बर्नहाम संसद प्रवेश गर्न सफल भए भने लेबर पार्टीभित्र औपचारिक रुपमा नेतृत्वको प्रतिस्पर्धा सुरु हुने देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू