सोमबार, ११ मे, २०२६
16:54 | २१:३९

स्थानीय चुनावमा लेबरको हारपछि स्टार्मर दबाबमा, युरोपसँग सम्बन्ध सुधार्ने अठोट

रासस मे ११, २०२६

काठमाडौँ । स्थानीय चुनावमा लेबर पार्टीले ठूलो क्षति बेहोरेपछि बेलायती प्रधानमन्त्री किअर  स्टार्मरमाथि पार्टीभित्रै दबाब बढेको छ। घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टार्मरले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता जनाएका छन्।

लन्डनमा सोमबार आयोजित भाषणमा स्टार्मरले आफ्नै पार्टीभित्र र मतदातामाझ आफूमाथि शंका रहेको स्वीकार गरे। तर, उनले ती सबैलाई गलत सावित गर्ने दाबी गर्दै आफ्नो सरकार देशमा ‘आशा पुनःस्थापना’ गर्ने दिशामा केन्द्रित रहने बताए।

उनले बेलायत लामो समयदेखि यथास्थितिबाट थाकिसकेको उल्लेख गर्दै सरकार जनताको पक्षमा उभिएको अनुभूति दिलाउन चाहेको बताए। स्टार्मरले देश अहिले ‘राष्ट्रको आत्माका लागि लडाइँ’ को अवस्थामा रहेको दाबी गर्दै आप्रवासनविरोधी दल रिफर्म युके सत्तामा पुगे बेलायत ‘अँध्यारो दिशातर्फ’ जान सक्ने चेतावनी दिए।

नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले हालैका स्थानीय चुनावमा उल्लेखनीय सफलता पाएपछि बेलायती राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिन थालेको छ। उक्त नतिजाले लेबर पार्टीलाई दायाँ र बायाँ दुवै दिशाबाट दबाबमा पारेको विश्लेषण गरिएको छ। रिफर्म युकेसँगै ग्रीन पार्टीले पनि लेबरको मत आधार कमजोर बनाएको छ।

प्रधानमन्त्री स्टार्मरमाथिको दबाब पार्टीभित्र पनि बढिरहेको छ। लेबरका केही सांसदहरूले नेतृत्व परिवर्तनबारे खुला रूपमा प्रश्न उठाउन थालेका छन्। पूर्वउपप्रधानमन्त्री एन्जेला रेनरले सरकारको कार्यशैली प्रभावकारी नभएको टिप्पणी गर्दै परिवर्तन आवश्यक रहेको बताएकी छन्। उनले लेबरले आफ्नो श्रमजीवी वर्ग र सामाजिक लोकतान्त्रिक मूल्यमा फर्किनुपर्ने तथा सर्वसाधारणको जीवनयापनको खर्च घटाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेकी छन्।

रेनरले वर्तमान अवस्था लेबरका लागि ‘अन्तिम अवसर’ हुन सक्ने चेतावनीसमेत दिएकी छन्। उनका अनुसार पार्टीले जनताको सन्देश गम्भीर रूपमा सुनेर तत्काल सुधारको बाटो लिनुपर्छ।

गत साता इङ्ग्ल्यान्डका स्थानीय तह चुनाव तथा स्कटल्यान्ड र वेल्सका निर्वाचनमा लेबरले ठूलो क्षति बेहोरेपछि पार्टीभित्र निराशा बढेको हो। ती चुनावलाई स्टार्मर नेतृत्वमाथिको अनौपचारिक जनमतसङ्ग्रहका रूपमा समेत हेरिएको छ। दुई वर्षअघि भारी बहुमतसहित सत्तामा आएको लेबर अहिले आर्थिक चुनौती, महँगी, सार्वजनिक सेवा सुधारमा देखिएको कमजोरी र विवादास्पद नीतिगत निर्णयका कारण दबाबमा परेको छ।

स्टार्मर सरकारले आर्थिक वृद्धिको प्रतिबद्धता पूरा गर्न संघर्ष गरिरहेको आलोचना पनि भइरहेको छ। सार्वजनिक सेवा सुधार, जीवनयापनको खर्च नियन्त्रण तथा कल्याणकारी नीतिमा पटक–पटक यू–टर्न लिनुपरेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

यही पृष्ठभूमिमा स्टार्मरले आफ्नो भाषण र संसद्मा प्रस्तुत हुने सरकारको नीति तथा विधायी कार्यक्रममार्फत राजनीतिक गति फर्काउने प्रयास गरेका छन्। उनले ऊर्जा, अर्थतन्त्र र राष्ट्रिय सुरक्षामाथि बेलायतले पुनः नियन्त्रण स्थापित गर्ने तथा देशलाई अझ निष्पक्ष बनाउने लक्ष्य अघि सारेका छन्।

स्टार्मरको प्राथमिकतामध्ये एक युरोपेली सङ्घसँगको सम्बन्ध पुनः नजिक बनाउनु पनि हो। सन् २०२० मा बेलायतले औपचारिक रूपमा इयु छोडेपछि व्यापारिक अवरोध र आर्थिक जटिलता बढेको भन्दै उनको सरकारले केही प्रतिबन्ध खुकुलो पार्ने प्रक्रिया अघि बढाएको छ। युवाहरूलाई युरोपमा केही वर्ष काम गर्न सक्ने व्यवस्था मिलाउन युवा गतिशीलता सम्झौता गर्ने तयारीसमेत भइरहेको उनले बताएका छन्।

उनले आफ्नो सरकार ‘युरोपसँगको सम्बन्ध पुनर्निर्माण गर्ने सरकार’ का रूपमा चिनिने दाबी गरे। यद्यपि बेलायतलाई फेरि इयुमा फर्काउने वा भन्सार सङ्घ तथा एकल बजारमा पुनः सामेल गराउने सम्भावनालाई भने उनले अस्वीकार गरेका छन्।

सन् २०१६ को ब्रेक्जिट जनमतसङ्ग्रहका बेला लेबरले इयुमै रहने पक्षमा अभियान चलाएको थियो। तर उक्त मुद्दाले देशलाई गहिरो रूपमा विभाजित गरेपछि अहिले पार्टी पुरानो बहस पुनः चर्काउन इच्छुक देखिएको छैन।

यसैबीच, पार्टीभित्र नेतृत्व परिवर्तनको चर्चा पनि क्रमशः बढिरहेको छ। स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङ, ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम र एन्जेला रेनरलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिए पनि अहिलेसम्म कसैले खुला चुनौती दिएका छैनन्।

पूर्व लेबर सांसद जोश साइमन्सले स्टार्मरले देशको विश्वास गुमाइसकेको टिप्पणी गर्दै व्यवस्थित रूपमा नयाँ नेतृत्वतर्फ संक्रमण गराउने जिम्मेवारी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। पूर्व कनिष्ठ मन्त्री क्याथरिन वेस्टले पनि स्टार्मरले स्पष्ट राजनीतिक दिशा दिन नसके नेतृत्व प्रतिस्पर्धा सुरु गर्ने प्रयास हुने चेतावनी दिएकी छन्।

वेस्टले सर्वसाधारणले चुनावमार्फत स्पष्ट सन्देश दिएको उल्लेख गर्दै लेबरले त्यो सन्देश सुन्नुपर्ने र शीघ्र परिवर्तन आवश्यक रहेको बताएकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू