बिहीबार, ७ मे, २०२६
22:58 | ०३:४३

लन्डन फेसन बजारमा चर्चित संयुक्ता ‘वेडिङ बुटिक अफ द इयर’ विधामा मनोनित

नेपाली लिङ्क मे ७, २०२६

लन्डन फेसन विक डिजाइनर तथा दिगो वातावरण मैत्री फेसनकी प्रणेता संयुक्ता श्रेष्ठ

लन्डन । लन्डन फेसन विक डिजाइनर तथा दिगो वातावरण मैत्री फेसनकी प्रणेता संयुक्ता श्रेष्ठ, ‘लन्डन वेडिङ अवार्डस् २०२६’ को प्रतिष्ठित ‘वेडिङ बुटिक अफ द इयर’ फाइनलिस्टमा मनोनित भएकी छन् ।

मे १३ मा हुने विशेष अवार्ड समारोहको तयारी भइरहँदा यो मनोनयनले परम्परागत हस्तकला र दिगो भविष्य एकअर्कासँग अभिन्न रूपमा जोडिएका छन् भन्ने श्रेष्ठको मान्यतालाई थप बलियो बनाएको छ ।

सार्वजनिक मतदान र उद्योग विशेषज्ञहरूको मूल्याङ्कनका आधारमा छनोट गरिएको उक्त मनोनयनले श्रेष्ठको फ्ल्यागशिप बुटिकलाई नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको विश्वस्तरीय गन्तव्यको रूपमा स्थापित गरेको छ।

सन् २०११ देखि लन्डन फेसन क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले यस्तो समयमा आफ्नो इको–फ्रेन्डली ब्रान्ड सुरु गरेकी थिइन् जुनबेला वातावरण मैत्री शब्द बजारमा खासै परिचित थिएन । अहिले उनी नेपालीमूलको पहिलो यस्तो डिजाइनर हुन् जसको डिजाइन १६ औं शताब्दीदेखि १ लाख बढी ऐतिहासिक सामग्री रहेको विश्वप्रसिद्ध ‘फेसन म्यूजियम’ को संग्रहमा सुरक्षित राखिएको छ ।

‘पेटा लक्जरी भेगन वेडिङ अवार्ड’ विजेता श्रेष्ठले एक दशक बढी समयदेखि विवाहको बजारलाई नयाँ परिभाषा दिइरहेकी छन् । उजको ‘विवेकमूलक सौन्दर्य’ अभियानले विश्वभरका बेहुलीहरूलाई आकर्षित गरेको छ, जो नैतिक श्रम मापदण्ड र वातावरण संरक्षणलाई प्राथमिकता दिने उनको विशेष ‘बेस्पोक सेवाका’ लागि लन्डनस्थित श्रेष्ठको बुटिक पुग्ने गर्छन्।

‘बेहुली समुदाय र क्षेत्रका विज्ञहरूबाट मनोनयनमा पर्नु मेरा लागि ठूलो सम्मानको कुरा हो। हाम्रो बुटिक एउटा यस्तो पवित्र स्थान हो जहाँ उच्च फेसन र वातावरणीय निष्ठाको मिलन हुन्छ। हामी हाम्रा ती ‘अदृश्य नायकहरू’ (दक्ष महिला शिल्पीहरू) लाई सशक्तिकरण गर्छौं, जसको परम्परागत सीप हाम्रा पहिरनहरूको मुटु हो। फेसन देख्न र लगाउनमा मात्र राम्रो भएर पुग्दैन, यसले मानिस र पृथ्वी दुवैका लागि राम्रो काम पनि गर्नुपर्छ’- संयुक्ता भन्छिन् ।

यो मनोनयन श्रेष्ठको हालै सार्वजनिक भएको लन्डन फेसन विक डकुमेन्ट्री लगत्तै आएको हो, जसले उनको डिजाइन तयार पार्ने ९५ प्रतिशत दक्ष महिला शिल्पीहरूका मेहनतलाई उजागर गरेको थियो ।

वातावरण मैत्री, परम्परागत सीप, उचित ज्याला र महिला सशक्तिकरणलाई जोड दिँदै संयुक्ता श्रेष्ठ बुटिकले नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकै छानामुनी ल्याएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू