बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान हुंदै, नेपालीमूलका पनि थुप्रै उम्मेदवार


लन्डन- आज मे ७ तारिख विहीबार बेलायतका चारमध्ये तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा स्थानीय निर्वाचन हुँदैछ । विभिन्न १३६ स्थानीय काउन्सिलमा ५ हजार १४ सिटका लागि निर्वाचन भइरहेको छ ।
यस निर्वाचनमार्फत स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि छनोट गर्नेछन् भने इङ्गल्याण्डका ३० काउन्सिलमा काउन्सिलर र मेयर चुनिनेछन्।
साथै, इंग्ल्याण्डका क्रोयडन, ह्याक्नी, लुइसाम, न्यूह्याम, टावर ह्यामलेट्स र वाटफोर्डसहितका ६ स्थानीय तहमा मेयर पदको चुनाव पनि हुंदैछ ।
बिहान ७ बजे शुरु भएको मतदान राती १० बजेसम्म जारी रहनेछ । अधिकांश क्षेत्रको नतिजा शुक्रबार दिनभरसम्म आइसक्ने अपेक्षा छ ।
बेलायतमा यसपटकको स्थानीय निर्वाचनमा नेपालीमूलका पनि थुप्रै उम्मेदवार मैदानमा उत्रिएका छन् । हामीलाई प्राप्त जानकारीअनुसार कञ्जरभेटिभ पार्टीबाटै कम्तीमा ९ जना नेपाली मूलका उम्मेदवार छन् ।
सत्तारुढ लेबरका साथै लिबरल डेमोक्रयाट, ग्रिन र जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीबाट समेत रहेका कारण नेपाली मूलका उम्मेदवारहरुको जम्मा संख्या कम्तीमा डेढ दर्जन बढी हुन सक्ने आँकलन गर्न सकिन्छ ।
यसपटक बेलायतको स्थानीय निर्वाचन लड्दै गरेका नेपाली मूलका उम्मेदवारहरुबीच केही रोचक संयोग पनि जुरेका छन् । एक बरोमा नेपाली दम्पति नै काउन्सिलर पदका उम्मेदवार छन् भने दुई क्षेत्रमा नेपाली मूलका उम्मेदवारबीचमै प्रमुख प्रतिस्पर्धा छ ।
लन्डनको रोयल बरो अफ ग्रीनवीचमा पूर्व मेयर जीत रानाभाट प्लमस्टिड एण्डन ग्लिन्डन वार्डबाट उम्मेदवार छन् भने उनकी पत्नी गौमाया गुरुङ सोही बरोकै एबिउड वार्डबाट उम्मेदवार छन्। उनीहरु दुवैजना लेबर पार्टीका हुन्।
पूर्व मेयर रानाभाट उम्मेदवार रहेको प्लमस्टिड एण्ड ग्लिन्डन वार्डमा लेबर पार्टीका पूर्व नेता जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा नरेन्द्र कंडेल पनि उम्मेदवार छन्।
त्यस्तै, अल्डरसटको वेलिङटन वार्डमा कञ्जरभेटिभ पार्टीबाट डा विशाल गुरुङ तथा लेबर पार्टीबाट उत्तरबहादुर गुरुङ उम्मेदवार छन्।
यी दुवै वार्डमा तीन- तीन जना काउन्सिलर निर्वाचित हुने भएकाले प्राविधिक हिसाबले नेपाली मूलका दुवै उम्मेदवार निर्वाचित हुने सम्भावना पनि रहन्छ । तर, मत विभाजन हुने अवस्थामा एउटाले जित्ने र अर्कोले हार्ने सम्भावना पनि उत्तिकै रहन सक्छ ।
पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि लेबर पार्टीबाट बेजिङस्टकको ब्राइटनहिल वार्डमा चुनावी मैदानमा छन् । ज्ञानप्रसाद गुरुङ कञ्जरभेटिभ पार्टीबाट स्वीन्डनको पार्क साउथमा चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतीक्षा गुरुङ लेबर पार्टीबाट ब्याटल वार्ड रिडिङमा चुनाव लडेकी छिन्। इन्द्राहाङ लिम्बु फेलथाममा कन्जरभेटिभ उम्मेदवार छन् ।
पूर्व काउन्सिलर एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव नारायण बेल्वासे दोश्रोपटक काउन्सिलर प्रतिष्पर्धामा उत्रिएका छन् । यसपटक उनले बेलायतमा नेपाली जनसंख्या उल्लेख्य रहेको रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्ड रोजेका छन् जहां विगत २५ वर्षदेखि उनको बसोवास छ । बेल्वासे कन्जरभेटिभका काउन्सिलर उम्मेदवार हुन् ।
बेलायतका विभिन्न स्थानीय निकायमा विभिन्न पार्टीबाट प्रतिस्पर्धा गर्दै गरेका नेपाली मूलका सबै उम्मेदवारहरुलाई विजयको लागि हार्दिक शुभकामना ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


