शुक्रबार, १ मे, २०२६
20:58 | ०१:४३

प्लमस्टिडमा खुल्यो भोजनम- नेपालकै शैलीमा खाजा नास्तादेखि मौलिक परिकार र थकाली

मेन्यूमा इण्डियनदेखि इंग्लिस ब्रेकफास्टसम्म

नेपाली लिङ्क मे १, २०२६

लन्डन- बेलायतमा उल्लेख्य संख्यामा नेपालीहरु बस्ने साउथ इष्ट लन्डनको प्लमस्टिडमा मौलिक नेपाली स्वाद पस्किने नयाँ रेष्टुरेन्ट ‘भोजनम’ ओपनिङ भएको छ।

प्लमस्टिड लेकडेल रोड (टेस्को एक्सप्रेसको ठीक अपोजिट) मा अवस्थित रेष्टुरेन्ट शुक्रबार औपचारिक रुपमा उद्घाटन भएको हो।

लामो समयदेखि रेष्टुरेन्ट क्षेत्रका अनुभवी सेफद्वय दिपेश खनाल र विश्वराज सेढाईंले सञ्चालनमा ल्याएको भोजनम हरेक दिन बिहान ८ देखि बेलुका ११ बजेसम्म खुला रहनेछ।

भोजनममा नेपालकै शैलीमा खाजा नास्ता (ब्रेकफास्ट) देखि सबैजसो मौलिक परिकार र थकाली खानासम्म उपलब्ध छन्। साथमा, इण्डियन कुइजिनका करी, बिर्यानी र तन्दुरी परिकारदेखि इंग्लिस ब्रेकफास्टसम्म पनि रेष्टुरेन्टको मेन्यूमा समावेश छन्।

भोजनमको ब्रेकफास्टमा नेपालकै जस्तो कालो चना, बोइल्ड अण्डा, बारा, सेलरोटी, जेरी पुरी तरकारी, रोटी सब्जी, पराठाजस्ता परिकार उपलब्ध छन् । साथमा, इंग्लिस ब्रेकफास्ट पनि सर्भ गरिन्छ ।

त्यस्तै, रेष्टुरेन्टले मःम, चाउमिन, किमा नुडल, लाफिङ, सेकुवा, छोइला, चितवनको तास, समोसासहितका मौलिक परिकारहरुदेखि थकाली खाना र नेवारी खाजा सेटसम्मका परिकार उपलब्ध गराउँछ ।

भोजनमले आफ्ना ग्राहकलाई बटर चिकन, बिर्यानी, चिकन टिक्का, तन्दुरी चिकन, नान, रोटीहरु लगायत इण्डियन परिकारहरु पनि पस्किन्छ।

सञ्चालकद्वय दिपेश खनाल (दायां) र विश्वराज सेढाईं

रेष्टुरेन्ट सञ्चालक तथा सेफ विश्वराज सेढाईं भोजनममा थकाली खाना, किमा नुडल्स, लाफिङ, चितवनको तास, नेपाली मसाला चियालगायतका परिकार र पेय हाउस स्पेसल रहेको बताउँछन्।

‘समोसा, मःमसहितका सम्पूर्ण परिकार हामीले आफ्नै किचनमा तयार गर्ने भएकाले हामीले पस्किने सबै खाना ताजा, स्वस्थ र गुणस्तरीय हुन्छ’, सेढाईं भन्छन्, ‘हाम्रा सबै सप्लायर र बजारसमेत नजिकै रहेकाले सबै खाना, मासु र तरकारीसम्म सबै पूर्ण ताजा प्रयोग गर्ने गरेका छौं।’

अर्का सञ्चालक एवम् सेफ दिपेश खनालले भोजनममा बिहान ब्रेकफास्टदेखि दिनभर मौलिक नेपाली कुइजिन तथा इंग्लिस ब्रेकफास्टदेखि इण्डियन कुइजिनका परिकारसम्म उपलब्ध गराइएकाले ग्राहकका लागि एकै ठाउँमा धेरै स्वादको अवसर लिने अवसर हुने बताए ।

प्लमस्टिडमा थुप्रै नेपाली पसल र बजारको बीचमा रहेको रेष्टुरेन्टले मौलिक शैलीमा सर्भ गर्ने नेपाली परिकारहरु ग्राहकको लागि सहज र सुलभ दरमा उपलब्ध गराइएको उनको भनाइ छ ।

भोजनमको बारमा विभिन्न थरिका ककटेल, मकटेलदेखि खुकरी रम, कोदोको रक्सीजस्ता नेपाली स्वादका पेयहरु उपलब्ध छन् ।

रेष्टुरेन्टमा एकै राउण्डमा ५० भन्दा बढी ग्राहक अटाउने सिटिङ क्षमता छ । त्यसबाहेक टेकवे, अनलाइन अर्डर र डेलिभरिसम्मको सुविधा प्रयोग गरेर पनि खाना मगाउन सकिन्छ । भोजनमले कुनै पनि विशेष अवसरका पार्टीहरुको लागि लागि क्याटरिङ पनि सुविधा दिनेछ ।

भोजनमको सवल पक्ष सञ्चालकद्वय लामो समय रेष्टुरेन्ट क्षेत्रमा अनुभव लिएका सेफहरु हुन् । दिपेश खनालले २ वर्षदेखि सोहि स्थानमा प्लमस्टिड क्याफे चलाउंदै आएका थिए भने त्यसअघि ८ वर्ष अष्ट्रेलियामा बस्दा अंग्रेजी खानाको अनुभव लिएका थिए ।

अर्का सञ्चालक विश्वराज सेढाईं पनि सन् २०१० देखि नै विभिन्न कुइजिनका रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत रहंदै आएका छन् । विगत ६ वर्षदेखि भने उनले बेलायतका विभिन्न नेपाली तथा इण्डियन रेष्टुरेन्टमै सेफका रुपमा काम गरिरहेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू