बुधबार, २९ अप्रिल, २०२६
18:56 | २३:४१

‘भिक्टोरिया क्रस’ प्राप्त १३ भूतपूर्व गोर्खा सैनिकको सम्झनामा पदयात्रा

नेपाली लिङ्क अप्रिल २९, २०२६

फाइल तस्विर

लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्न लागिएको छ।

गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २,००० जनाको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन्।

फाउन्डेशनका संस्थापक अध्यक्ष भिम तुम्वाहाम्फेले वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको बताए।

“हाम्रा नानी छोराछोरीले इतिहास बिर्सदै गए। त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मदत पुग्ने हाम्रो अपेक्षा छ,” उनले भने।

अध्यक्ष तुम्वाहाम्फेका अनुसार पदयात्राको लागि २ ओटा रुट तय गरिएको छ। पहिलो रुट छ साढे ६ किलोमिटर लामो हुनेछ भने दोश्रो रुट १३ किमि। “हामीले एक भीसी बराबर एक किलोमिटर राखेका हौँ,” उनले भने।

बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई मदत गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको गोर्खा पिस फाउन्डेशनले अहिले वर्षेनी नेपालका १६/१७ वटा स्कुलहरुलाई सहयोग गर्दै आएको छ।

“हामीले नेपालमा विद्यालय भवन निर्माण, खानेपानी तथा शिक्षकको तलबमा पनि सहयोग गर्दै आएको छौं। साथै, बेलायतमा आफ्नै जग्गा किनेर बहुउद्देश्यीय सभा कक्ष सहितको आफ्नै भवन बनाउने पनि हाम्रो योजना छ, ” अध्यक्ष तुम्वाहाम्फेले भने।

७ जुनमा आयोजना गर्न लागिएको गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत अन्य पुरष्कारको पनि व्यवस्था गरिएको छ। लन्डन र आशफोर्डमा कार्यालय रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजकको रुपमा छ।

“गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने गोर्खा वाक २०२६ कार्यक्रममा ए स्टार मोर्गेजेज पनि सहयात्री बन्न पाएकोमा हामी गर्व महसुस गरिरहेका छौँ। यस कार्यक्रममा तपाईँहरू सबैको उपस्थितिले यसलाई परिष्कृत र थप उचाइमा लैजाने छ भन्ने हामीहरूलाई लागेको छ,” ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले भने।

“तसर्थ सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनु हुन हामी आह्वान गर्दछौँ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू