सोमबार, २७ अप्रिल, २०२६
14:53 | १९:३८

गोरखाली समाज यूके अध्यक्षमा टकमाया गुरुङ, सम्पूर्ण कार्यसमिति निर्विरोध

नेपाली लिङ्क अप्रिल २७, २०२६

लन्डन- गोरखाली समाज यूकेको अधिवेशनबाट टकमाया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ।

यसअघि उनी संस्थामा लगातार तेस्रो कार्यकाल सम्म लगातार उपाध्यक्ष पदमा रहेर काम गरेकी थिइन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष हिमाला गुरुङ र राजेन्द्र गुरुङ, महासचिव धन दर्लामी मगर, सचिव मनबहादुर गुरुङ र कोषाध्यक्ष यशोदा ढकाल न्यौपाने छन्।
सदस्यहरूमा इन्दिरा दर्लामी, गंगा राना, होमाया गुरुङ, शकुन्तला गुरुङ, देव गुरुङ, विकास गुरुङ, मणिराज गुरुङ, गौतम गुरुङ, काजी गुरुङ, देव राना र विकास विक चुनिए।

निर्वाचन प्रक्रिया अन्तर्गत प्रमुख निर्वाचन अधिकृत भरत रोकाले गोपनीयताको शपथ ग्रहण गराएका थिए भने निर्वाचन अधिकृत विष्णु तमाङले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गरे। साथै, निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित धन्यवाद ज्ञापन गरिएको थियो।

अल्डरशटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनको पहिलो चरण तत्कालीन अध्यक्ष हेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमको शुभारम्भ समाजका प्रमुख सल्लाहकार विष्णु तमाङ तथा बेलायत भ्रमणमा रहेका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरे। त्यसपछि नेपाल र बेलायत दुवै देशका राष्ट्रिय गान बजाइएको थियो।

कार्यक्रम सञ्चालन गर्दै महासचिव गौतम गुरुङले सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरे ।

स्वागत मन्तव्य उपाध्यक्ष टक कुमारी गुरुङले राखिन् भने समाजको आर्थिक विवरण ट्रस्टी अशोक ढकालले प्रस्तुत गरे।

प्रमुख सल्लाहकार विष्णु तमाङले समाजले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ सुदृढ र प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू दिए। पूर्व अध्यक्ष तथा सल्लाहकार कर्ण दर्लामी मगरले समाजमा रहेका केही कमजोरीहरू सुधार गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

साथै समाजका सल्लाहकार फटकजित गुरुङ, निर्वाचन अधिकृत गणेश गुरुङले पनि आफ्नो धारणा व्यक्त गरे ।

अध्यक्ष हेमकुमार गुरुङले विगत दुई वर्षको विस्तृत समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालको समापन घोषणा गरे र निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत भरत रोका तथा निर्वाचन अधिकृतहरू विष्णु तमाङ, गणेश गुरुङ, अशोक ढकाल र राजकुमार गुरुङ ( नेपालमा भएकाले अनुपस्थित) थिए ।

प्रमुख निर्वाचन अधिकृत भरत रोकाले समाजप्रति निःस्वार्थ भावनाले सेवा गर्न सबैलाई आग्रह गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिए र नवनिर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गरे।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष टकमाया गुरुङले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग, सल्लाह र सुझावलाई आत्मसात् गर्दै समाजलाई अझ सशक्त, एकताबद्ध र सक्रिय रूपमा अगाडि बढाउने बताइन्।
कार्यक्रममा समाजका सल्लाहकारहरू फटकजीत गुरुङ, जगत थापा, कृष्ण दर्लामी, लिगलिग समाज यूकेका उपाध्यक्ष बमबहादुर आलेलगायतको उपस्थिति थियो।

कार्यक्रममा उल्लेखनीय संख्यामा समुदायका सदस्यहरूको सहभागिता थियो।

विशेष रूपमा महिला नेतृत्वमा अध्यक्ष चयन भएको यस अवसरलाई सहभागीहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू