अन्जुले गुन्यू चोलीमा लन्डन म्याराथन दौडिएर बनाइन् गिनिज वर्ल्ड रेकर्ड


लन्डन । बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच आइरन लेडी उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले लन्डन म्याराथनमा मौलिक नेपाली पहिरन गुन्यू चोलीमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन् ।
आइतबार आयोजित ४६ औं लन्डन म्याराथनमा अन्जुले नयां कीर्तिमान राखेकी हुन् ।
एबोट वर्ल्ड च्याम्पियनसीपले आयोजना गर्ने विश्वका ठूला म्याराथन लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो र सिड्नी पार गरिसकेकी अन्जुले यसपटक केही नयां र च्यालेन्ज हुने गुन्यू चोलीमा दौडिन आंट गरेको बताइन् । लन्डन म्याराथनमा उनको सहभागिता सातौंपटक हो ।
‘यस्तो पहिरनमा दौड्दा अलिक असहज भएपनि दर्शकहरुले ‘ओहो नेपाली, कस्तो अमेजिङ आउटफिट’ भन्दा दूरी पार गरेको थाहै भएन’, उनले भनिन् ।
उमेर र समय नभनि कुनै पनि काम शुरु गर्ने र प्रतिवद्धता, लगाव भए असम्भव केही नभएको उनी बताउंछिन् ।
‘महिलाहरु भएर पनि केही पृथक गरौं न । म सबैलाई दौड्न सल्लाह दिन्छु । यसले तपाईंको जीवनशैली र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ’, अन्जुले भनिन्, ‘दौड्दा आफ्नो आत्मविश्वास बढ्छ, नयां साथी, नयां ठाउं देख्न भेट्न पाइन्छ ।’

अन्जुले केही साताअघि सात दिनमा नेपालको सातवटा प्रदेशमा सात म्याराथन समेत पूरा गरेकी थिइन् ।
अन्जुले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ‘७७७ म्याराथन च्यालेन्ज’ प्रतियोगिता सफलतापूर्वक पूरा गरि यस्तो दौड पूरा गर्ने प्रथम नेपाली महिला बनेकी छन्।
उनले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन र यूकेको सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया १०० किमी ट्रेल रन समेत पूरा गरिसकेकी छन् । अन्जुले म्याराथन यात्रा २०१९ को कोभिड महामारीबाट सुरु गरेकी थिइन् ।



