आइतबार, २६ अप्रिल, २०२६
15:06 | १९:५१

पत्रकार महासंघ बेलायत १५औं स्थापना दिवस मनाउने तयारीमा, विभिन्न समिति गठन

नेपाली लिङ्क अप्रिल २६, २०२६

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले आफ्नो १५औं स्थापना दिवस भव्य रूपमा मनाउने तयारी थालेको छ ।

शाखाले वार्षिक उत्सवका अतिरिक्त पत्रकारिता तालिम, समाजसँग अन्तरक्रिया र प्रतिष्ठित ‘वर्ष पत्रकारिता सम्मान’ पुरस्कारका लागि छनौट समिति गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यसमिति बैठकले आगामी १० जुलाई २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा वार्षिक उत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

महासचिव खेमराज रानाभाटले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रमको सहसंयोजकमा उपाध्यक्ष प्रमिला लाबुङ राई तथा सदस्यहरूमा गोमा राना, नगेन्द्र नेम्वाङ र विश्वासदीप तिगेला रहेका छन्।

प्रचार–प्रसार समितिको संयोजक महासचिव खेमराज रानाभाट, सहसंयोजक उपाध्यक्ष शिव भण्डारी तथा सदस्यहरूमा विश्वासदीप तिगेला, वाचस्पति रेग्मी र मिलन तमु छन्।

स्वागत तथा हल व्यवस्थापन समितिको संयोजक गोमा राना, सहसंयोजक मञ्जु भण्डारी खरेल तथा सदस्यहरूमा प्रमिला लाबुङ राई र बम थापा सूर्यवंशी छन्।

आर्थिक सहयोग संकलन समितिको संयोजकमा कोषाध्यक्ष एस. के. गुरुङ, सहसंयोजक सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरूमा गोमा राना, नगेन्द्र नेम्वाङ्ग र बम थापा सूर्यवंशी रहेका छन्।

शाखाले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान पुरस्कार’ का लागि यस पटक वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, सल्लाहकारहरू नवीन पोखरेल, नरेश खपाङ्गी मगर, ध्रुवराज आर्याल र अध्यक्ष विमला सेने सम्मिलित सिफारिस समिति गठन गरेको छ । यस समितिले छनौट गरेको पत्रकारलाई वार्षिक उत्सवमा सम्मान गरिनेछ ।

पत्रकारहरूको व्यावसायिक क्षमता वृद्धिका लागि महासंघले विभिन्न तालिम कार्यक्रम समेत सार्वजनिक गरेको छ। आगामी ६ जुन २०२६ मा वेल्सको कुम्ब्रानमा स्थानीय सामाजिक संघसंस्थाहरूसँग अन्तरक्रियाका साथै “न्यूज रिपोर्टिङ नोट तयारी” सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।

त्यसैगरी, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर ३ मे २०२६ मा केन्द्रसँगको समन्वयमा “वर्तमान पत्रकारिताको चुनौती र सम्भावना” विषयमा भर्चुअल प्रशिक्षण आयोजना हुने जानकारी दिइएको छ।

बैठकले आगामी २६ र २७ जुलाई २०२६ मा जापानको नारितामा हुने वैदेशिक शाखाहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा यूके शाखाको तर्फबाट प्रभावकारी सहभागिता जनाउने निर्णय समेत गरेको छ ।

उक्त सम्मेलनमा वैदेशिक शाखा र केन्द्रबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । बैठकमा सल्लाहकार एवं संस्थापक अध्यक्ष नवीन पोखरेलसहित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू