बाल गृह सहयोगार्थ लन्डन म्याराथन दौडंदै ६६ वर्षीय हरिहर


लन्डन – नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको सहयोगार्थ ६६ वर्षीय हरिहर उपाध्याय लन्डन म्याराथनमा दौडन लागेका छन्।
२६ अप्रिल २०२६ मा हुन गइरहेको लन्डन म्याराथनमा भाग लिने उनी सम्भवत: सबैभन्दा बढी उमेरका नेपाली हुन् ।
हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरिरहेको बाल गृहको सहयोगार्थ आफूले म्याराथनमा भाग लिन लागेको उपाध्यायले बताए।
“म्याराथन आफैंमा मेरो लागि व्यक्तिगत उपलब्धि भए पनि मेरो वास्तविक प्रेरणा मेरो मनसँग अत्यन्त नजिक रहेको एउटा उद्देश्यबाट आएको हो— धुलिखेलमा रहेको हेल्प नेपाल नेटवर्क बाल गृहलाई सहयोग गर्ने। यस संस्थाले साना बालिकाहरूलाई शिक्षा, सुरक्षित आवास, र दैनिक हेरचाह प्रदान गर्दछ, जसले उनीहरूलाई सपना देख्न, सिक्न र आशाले भरिएको भविष्य निर्माण गर्ने अवसर दिन्छ,” उपाध्यायले भने।
“म आफूले स्थिर करियर र जीवन निर्माण गर्ने अवसर पाएकोमा भाग्यमानी ठान्छु। अब, मेरो लागि गहिरो अर्थ राख्ने समुदायलाई केही फर्काउने यो अवसर उपयोग गर्न चाहन्छु। म दौडने प्रत्येक पाइला ती साहसी बालिकाहरूका लागि समर्पित हुनेछ, जसको जीवन शिक्षा र सुरक्षित घरको पहुँचमार्फत परिवर्तन हुन सक्छ,” उनले भने।
उपाध्यायले आफ्नो म्याराथनसँग सम्बन्धित सबै खर्च आफैंले व्यहोर्ने र प्राप्त सहयोग शत प्रतिशत सिधै धुलिखेलस्थित बाल गृहमा पुग्ने पनि जनाए ।
यो लिंकमा गएर उनको यो अभियानलाई सक्दो सहयोग गर्न हेल्प नेपाल नेटवर्कले आग्रह गरेको छ ।

सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखा छन् भने नेपालमा केन्द्रीय कार्यालय छ ।
“मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा कमजोर आर्थिक पृष्ठभूमिका २३ जना बालिका पठनपाठन गरिरहेका छन् ।
सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुरयाउँदै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


