आर्थिक मन्दीतर्फ बेलायत, झण्डै २ लाख ५० हजार जागिर गुम्न सक्ने चेतावनी


लन्डन । बेलायतमा आगामी एक वर्षभित्र ठूलो आर्थिक संकट आउन सक्ने चेतावनी दिइएको छ । नयाँ विश्लेषण अनुसार सन् २०२७ को मध्यसम्म झण्डै २ लाख ५० हजार मानिसले जागिर गुमाउन सक्नेछन् ।
यो संकटको मुख्य कारण हो—इरान युद्ध र त्यसले निम्त्याएको ऊर्जा संकट । मध्यपूर्वमा तनाव बढ्दै जाँदा इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्ने कदम चाल्यो । यसको असर विश्वभर तेल र ग्यासको मूल्य आकस्मिक रूपमा बढ्न थाल्यो ।
ऊर्जा महँगो भएपछि उद्योगहरूको लागत बढ्यो, व्यापार घट्यो, र उपभोक्ताको खर्च पनि कम हुन थाल्यो । यही कारणले यूकेको अर्थतन्त्र २०२६ भर लगभग स्थिर रहने र ‘रिसेसन’ अर्थात् मन्दीको जोखिम बढ्ने अनुमान गरिएको छ ।
डेलोइट र इवाई आइटम क्लबले गरेको अध्ययन अनुसार सन् २०२७ मध्यसम्ममा बेरोजगारी दर हालसम्मकै उच्च अर्थात ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । जसको अर्थ लाखौँ मानिस कामबाट बाहिरिन सक्छन् ।
आर्थिक वृद्धि दर पनि ठूलो मात्रामा घट्ने अनुमान गरिएको छ । पहिले १.४ प्रतिशत रहने प्रक्षेपण गरिएको वृद्धिदर अब घटेर ०.७ प्रतिशतमा झर्ने बताइएको छ।
त्यससँगै मुद्रास्फीति पनि बढेर करिब ४ प्रतिशतसम्म पुग्ने अनुमान छ, जुन केन्द्रीय बैंकको लक्ष्यभन्दा दोब्बर हो ।
ठूला कम्पनीहरू अहिले खर्च कटौती, नयाँ भर्ना घटाउने र लगानी रोक्ने रणनीतिमा गएका छन् । यसले आर्थिक गतिविधि अझ सुस्त बनाउने खतरा देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि यूकेको आर्थिक वृद्धि अनुमान अन्य जी–७ देशभन्दा धेरै घटाएको छ । विशेषज्ञहरू भन्छन्—यदि इरान युद्ध लामो समयसम्म जारी रह्यो भने यसको असर यूके मात्रै होइन, विश्व अर्थतन्त्रमा समेत गम्भीर रूपमा देखिन सक्छ ।


