लन्डनमा एउटै स्टेजमा भिटेन र साकार



लन्डन । लन्डनले यसपालीको नयां वर्षमा नेपालबाट नाम चलेका खासै कलाकार स्वागत गरेन । नेपाली डायष्पोरा विगत जस्तो शुभकामना कार्यक्रममा झुम्न पनि पाएन । तर, उत्तरी लन्डनको डाल्स्टन ह्याकनीमा अवस्थित अर्थ रिभोलुसरी ह्याक्नी हल भने बेजोड नेपाली र्याप गीतले गुन्जियो ।
विश्वभरका अग्रणी र उदीयमान कलाकारहरूलाई स्वागत गरिसकेको उक्त अत्याधुनिक भेन्यूले नेपाली हिप–हपका सेलिब्रेटी र्यापरद्वय समीर घिसिङ (भिटेन) र साकार उर्फ लिल बुद्धलाई एउटै स्टेजमा उतारयो ।
मिलानोयर इभेन्ट्स लि. ले करिब तीन महिनाको गृहकार्यपछि आफ्नो पहिलो कार्यक्रममै डाकेको थियो भिटेन र साकारलाई ।
नेपाली नयां वर्षलाई स्वागत गर्न आयोजित ‘नेपहप नाइट २०८३’ कन्सर्टमा एकहजार बढी तन्नेरी सहभागी भए ।
प्राय नेपाली लोकभाका र पञ्चेबाजामा झुम्न लालयित हुने यहांको नेपाली डायष्पोरा हिप हप संगीतमा यति विघ्न आकर्षित भएको सम्भवतः पहिलो हो ।
कार्यक्रम साँझ ७ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रमको सुरुवात TRY-GAR र BOKA-G ले ओपनिङ प्रस्तुति दिएर गरेका थिए । सुरुदेखि अन्त्यसम्म नै कार्यक्रमको माहोल उत्साहपूर्ण र रमाइलो बनेको थियो ।
भिटेनले ‘सिम्सिमे पानी’, ‘ड्रग एडिक्ट’, ‘हालखबर’, ‘हामी यस्तै त हो नि ब्रो’, ‘चुरोट’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने साकारले ‘नो पिस इन लभ’, ‘सुरु गरौं कब्जा अनि आउँछ मजा’ सहित विभिन्न हिट गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाए । साकारलाई डिजे इभिलाइभले साथ दिएका थिए ।
त्यस्तै, भिटेन र साकारले संयुक्त रूपमा प्रस्तुत गरेको ‘ल ल ल..’ गीतमा दर्शक झन् उत्साहित बने । कार्यक्रममा स्थानीय समूह ‘अफलाइन’ र ‘पानी पुरी’ ले पनि प्रस्तुति दिँदै माहोल तताए ।
बेलायतमा नेपाली संगीत र चलचित्र प्रवर्द्धक कम्पनी ‘९७७ इभेन्ट कम्पनी’ का डाइरेक्टर वीरेन्द्र नेपाल कन्सर्टमा उपस्थित थिए । पहिलोपटक लन्डनमा हिपहप संगीतमा दर्शक सहभागिता उल्लेख्य पाएको उनले अनुभूति गरे ।
उनले पछिल्लो समय नेपाली युवाको संगीत चाहना परिवर्तन हुंदै गएको समेत बताए । ‘हिपहप गीत संगीतलाई कुनै बेला तिरस्कार गरिन्थ्यो तर अहिले त्यही विधाप्रति मानिस आकर्षित छन्’, नेपालले भने ।
‘दर्शकको रुचि र समय अनुसार, यदि तपाईंले गुणस्तरीय कार्यक्रम आयोजना गर्नुभयो भने मानिसहरू आउनेछन् जुन यसले प्रमाणित गर्छ’, उनी भन्छन्।
त्यसो त र्याप गीतबाटै मेयर हुंदै केन्द्रिय राजनीतिमा होमिएका बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अहिले नेपाली र्याप संगीतले धेरै फड्को मारेको विश्वास गरिन्छ ।
‘कार्यक्रम निकै सफल भएकामा हामी उत्साहित र कृतज्ञ छौं’, आयोजक मिलानोयर इभेन्ट्स लिमिटेडकी निर्देशक लुबिका रिमालले भनिन्, ‘हामीले हिप हप संगीतप्रति बेलायतका नेपाली युवाको आकर्षण बढेको देखेर दंग पर्यौं ।’
आयोजकले यस कार्यक्रमलाई नेपाली संगीत र सांस्कृतिक उत्सवसँगै नयाँ वर्ष स्वागत गर्ने विशेष अवसरका रूपमा चित्रण गरेको छ । उच्च डिमाण्ड भएका सेलिब्रेटी कलाकारलाई आमन्त्रण, महंगो भेन्यू र मानिसमा घट्दो क्रयशक्तिका कारण कार्यक्रम आफैंमा चुनौतिपूर्ण रहेको आयोजकको भनाइ छ ।
कार्यक्रम सिड्नी गुरुङले सञ्चालन गरेकी थिइन् ।
३० लाख सब्सक्राइबर पुगेकामा लन्डन ब्रीज अगाडि सेलेब्रेसन
यसैबीच, भिटेनका युट्यूबमा ३० लाख सब्सक्राइबर पुगेकामा लन्डन ब्रीज अगाडि सेलेब्रेसन गरिएको छ । मिलानोयर इभेन्ट्स लि. ले स्याम्पेनसहित केप काटेर खुशीयाली साट्ने अवसर जुराएको हो ।
युट्यूबमा ३० लाख ग्राहक पुग्ने भिटेन नेपालका पहिलो गायक हुन् । भिटेनले माया गर्ने आफ्ना दर्शकश्रोताप्रति आभार व्यक्त गरेका छन् ।
गत ११ अप्रिलमा लन्डन उत्रिएका भिटेन यूके घुमफिरपछि २० अप्रिल नेपाल फर्कंदैछन् भने १० तारिख लन्डन आइपुगेका साकार १७ अप्रिल फर्कने कार्यक्रम छ ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


