मंगलबार, १४ अप्रिल, २०२६
23:57 | ०४:४२

बेलायतमा घट्दै नेपाली नयाँ वर्षको रौनकता

नेपाली लिङ्क अप्रिल १४, २०२६

लन्डन । नयाँ वर्ष २०८३ को आगमनसँगै नेपालमात्र नभई विश्वभर छरिएर रहेका नेपालीहरूमा उल्लास र उमंग देखिए पनि बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा भने यसपटक उत्साह केही कम देखिएको छ। विगतका वर्षहरूको तुलनामा कार्यक्रमहरू घट्दै गएको छन् र सामूहिक उत्सवको रौनक केही फिका भएको अनुभूति गरिएको छ।

नयाँ वर्षलाई स्वागत गर्ने क्रममा विगतमा बेलायतका विभिन्न शहरमा नेपाली संघसंस्थाहरूले भव्य कार्यक्रम आयोजना गर्दै आएका थिए। ती कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरूको उपस्थिति हुने, सांगीतिक प्रस्तुति र सांस्कृतिक झलकले भरिपूर्ण कार्यक्रमहरू लगातार भइरहने गर्थे। एकप्रकारले ‘भ्याई नभ्याई’ हुने गरी कार्यक्रमहरूको चाप नै देखिन्थ्यो। नेपाली नयां वर्ष कार्यक्रम गर्न यतिखेर नेपालबाट केही कलाकारमात्र बेलायतमा छन् । तर, यो पंक्तिमा  नाम खासै नसुनिएका लोकगायिकाको वाहुल्य छ ।

तर यस वर्षको अवस्था फरक देखिएको छ। केही स्थानमा फाट्टफुट्ट कार्यक्रम भए पनि पहिले जस्तो व्यापक सहभागिता र भव्यता देखिएको छैन। कार्यक्रम आयोजकहरूका अनुसार कोभिड–१९ पछि नेपाली समुदायका सामूहिक कार्यक्रमहरू क्रमशः घट्दै गएका छन् । कतिपय आयोजक भने समर आउन अझै बांकी रहेकाले केही महिनापछि कार्यक्रमहरु बढ्ने विश्वास व्यक्त गर्छन् ।

बेलायतमा बस्ने धेरै नेपालीले अहिले नयाँ वर्ष सानो दायरामा—परिवार र नजिकका साथीभाइबीच मनाउने प्रवृत्ति बढेको देखिन्छ । बढ्दो महँगी, समयको अभाव र बदलिँदो जीवनशैलीका कारण ठूलो स्तरका कार्यक्रमहरू आयोजना गर्न चुनौतीपूर्ण बन्दै गएको आयोजकहरूको भनाइ छ।

यसैबीच पछिल्लो समय मानिसहरू स्वास्थ्यप्रति बढी सजग बन्न थालेका छन्। खानपानमा सचेतना बढेसँगै भारी भोज, पार्टी तथा बाहिरका खानाहरूमा निर्भर हुने कार्यक्रमप्रति पनि चासो घट्दै गएको देखिन्छ। स्वस्थ जीवनशैलीतर्फको झुकावले पनि ठूला सामूहिक कार्यक्रमहरूको आकर्षण कम हुन थालेको विश्लेषण गरिएको छ। महँगी तथा व्यस्तताका कारण पनि सहभागी संख्यामा ह्रास आएको धेरैको बुझाइ छ।

यसका साथै, पहिले जस्तो ठूलो भीड तान्ने अपेक्षा साकार पार्न कठिन हुँदै गर्दा अब आफ्नै ‘सर्कल’ भित्र सीमित भएर कार्यक्रम गर्नुपर्ने अवस्था छ।

यद्यपि, उत्सवको स्वरूप परिवर्तन भए पनि नयाँ वर्षप्रतिको भावना भने उस्तै छ। “नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी” यो भावना विदेशमा रहेका नेपालीहरूले पनि आत्मसात गर्दैछन्, चाहे त्यो ठूलो कार्यक्रममा होस् वा सानो पारिवारिक भेटघाटमै किन नहोस्। सामाजिक सञ्जालको बढ्दो प्रभावकारिता र डिजिटल प्रविधिको विकासका कारण पनि भौतिक भन्दा डिजिटल माध्यमबाट शुभकामना आदानप्रदान बढी प्रभावकारी बन्दै गएको छ ।

नयाँ वर्षले सबैमा नयाँ आशा, नयाँ योजना र अधुरा सपना पूरा गर्ने अपेक्षा जगाउँछ। तर सफलता प्राप्त गर्न केवल चाहना मात्र नभई निरन्तर कर्म आवश्यक पर्ने सन्देश पनि यस अवसरमा झन् महत्वपूर्ण बनेको छ।

नयाँ वर्ष २०८३ को अवसरमा बेलायतस्थित नेपाली समुदायले सीमित रूपमा भए पनि एकअर्कासँग खुसी साट्दै, आफ्नो संस्कृति र पहिचानलाई जोगाइराख्ने प्रयास गरिरहेको छ। यद्यपि भावी दिनहरुमा समयले फेरि सामूहिक उत्सवको पुरानो रौनक फर्काउने अपेक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू