गायिका सपना रोकाको नयां वर्ष बेलायतमा, पहिलो कार्यक्रम उल्भरह्याम्पटनमा



लन्डन । लोकदोहोरी गायिका सपना रोका बेलायत आइपुगेकी छन् ।
नेपाली नयां वर्षको उपलक्ष्यमा हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डसले १३ अप्रिल नेपाली नयां वर्षको दिन गर्न लागेको सांस्कृतिक कार्यक्रमका लागि उनी शनिबार बिहान बेलायत उत्रिएकी हुन् । उनलाई स्वागत गर्न संस्थाका उपाध्यक्ष इश्वर रिजाल र संस्थापक अध्यक्ष गंगा गौतम विमानस्थल गएका थिए ।
सपनाको पहिलो परफर्मेन्स सितारा हल, उल्भरह्याम्पटनमा आयोजित नयां वर्ष कार्यक्रममा हुनेछ ।
नेपालमा दुई दिनअघिमात्र ‘कति राम्री’ बोलको मौलिक गीत सार्वजनिक गरेकी सपनाले बेलायतका दर्शकहरुलाई नयां पुराना गीत सुनाउनेछिन् ।
गायिका रोकाले मिडल्याण्डवासी नेपालीलाई आफ्नो कार्यक्रममा आएर नयां वर्ष मनाउन तथा शुभकामना आदानप्रदान गर्न आमन्त्रण समेत गरेकी छन् ।
लोक दोहोरी गीतका लागि प्रख्यात सपनाले अहिलेसम्म २०० बढी गीत गाइसकेकी छन् भने उनका झण्डै १० वटा एल्बम सार्वजनिक भइसकेका छन् । आरजेको समेत पहिचान बनाइसकेकी सपना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय लाजिम्पाट समितिकी अध्यक्ष हुन् ।

‘कति राम्री’ ले बटुल्दै चर्चा
सपनाले गत बिहीबारमात्र सार्वजनिक गरेको ‘कति राम्री’ बोलको गीतले अहिले चर्चा बटुलिरहेको छ ।
सपना रोक्का युट्युब च्यानलमार्फत बजारमा आएको उक्त गीतले छोटो समयमै दर्शक–श्रोताको मन जितेको हो । भिडियो रिलिज भएको दुई दिनमै झण्डै ९४ हजार भ्यूज भइसकेको छ ।
उक्त गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वर छ । रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको गीतको भिडियो समेत रिलिज भएको छ जसमा चर्चित अभिनेता पल शाह र मोडल सड्रीना ठकुरीको अभिनय छ ।
भिडियो निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । पल-सड्रीना ‘केमिस्ट्री’ ले भिडियो आकर्षक देखिन्छ ।
उनले यसअघि पनि गायक खेम सेन्चुरीसंगै गाएको ‘नन्दनी’ हिट भएर व्यापक चर्चा बटुलेको थियो ।

सपनाको नयां गीत हेर्नुस्-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


