बिहीबार, ९ अप्रिल, २०२६
15:36 | २०:२१

क्यामन आइल्यान्डमा नेपाली दूतावासले घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने

नेपाली लिङ्क अप्रिल ९, २०२६

लण्डन । लण्डनस्थित नेपाली राजदूतावासले क्यामन आइल्यान्डमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि विशेष घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ।

विदेशमा रहेका नेपालीहरूलाई सहज रूपमा कन्सुलर सेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको यो शिविर आगामी १४ अप्रिल २०२६ मा जर्ज टाउनस्थित एल्म्सली मेमोरियल चर्चमा बिहान ९ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

दूतावासले विशेषगरी ३० अप्रिल २०२७ भित्र राहदानीको म्याद सकिने नागरिकहरूलाई यस अवसरको फाइदा उठाउँदै राहदानी नवीकरण गर्न आग्रह गरेको छ।

सेवा प्राप्त गर्न आवेदकहरूले अनिवार्य रूपमा अनलाइन फाराम भरी डाउनलोड गर्नुपर्ने र आवश्यक कागजातहरू दूतावासको इमेलमा पहिल्यै पठाउनुपर्ने प्रावधान राखिएको छ।

शिविरमा सहभागी हुँदा सेवाग्राहीले आफ्नो मूल राहदानी, नागरिकता र तिनका प्रतिलिपिहरू साथमा ल्याउनुपर्नेछ भने विवाहित महिलाको हकमा विवाह दर्ता र नाबालकहरूको हकमा जन्मदर्ता तथा अभिभावकका कागजातहरू आवश्यक पर्नेछन्।

राहदानी नवीकरणका लागि ११० पाउण्ड, हराएको राहदानीका लागि २२० पाउण्ड र १० वर्ष मुनिका नाबालकका लागि ५५ पाउण्ड शुल्क तोकिएको छ।

यस शिविरमा राहदानीबाहेक अन्य सम्भव भएसम्मका कन्सुलर सेवाहरू समेत प्रदान गरिने दूतावासले जनाएको छ।

महत्वपूर्ण कुरा के छ भने, सेवा शुल्कको भुक्तानी बैंक कार्डमार्फत मात्र गर्नुपर्नेछ। राहदानी तयार भइसकेपछि आवेदकलाई इमेलमार्फत जानकारी दिइनेछ र कूरियर सेवा प्रयोग गरेर राहदानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

थप जानकारी वा कुनै जिज्ञासा भएमा सेवाग्राहीले दूतावासको इमेल वा व्हाट्सएपमार्फत सिधै सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू