शुक्रबार, ३ अप्रिल, २०२६
14:58 | १९:४३

२४औं गोर्खाकपको टीम तथा स्टल दर्ता आइतबारदेखि

नेपाली लिङ्क अप्रिल ३, २०२६

फाइल तस्विर

लन्डन- बेलायतमा आयोजना हुने वर्षभरकै ठूलो नेपाली इभेन्ट गोर्खाकपको २४ औं संस्करण आगामी मे २४ मा तय छ ।

अल्डरसटको क्वीन्स एभिन्यूमा हुने यो मेगा इभेन्ट विगतभन्दा पनि झन् व्यापक र भव्य बनाउने लक्ष्यका साथ तयारीका सम्पूर्ण कामहरु यतिबेला तीव्र रुपमा अगाडि बढाइएको आयोजक तमुधिं यूकेले जनाएको छ ।

यस वर्षको गोर्खाकपका लागि टीम दर्ता र स्टल बुकिङ यही अप्रिल ५ तारिख आइतबार मध्यान्हदेखि खुला गरिने भएको छ ।

तमुधिं यूके महासचिव डा विशाल गुरुङका अनुसार टीम र स्टल दुवैका लागि अनलाइनमार्फत् संस्थाको वेबसाइटमा उपलब्ध फारम भरेर दर्ता गर्न सकिनेछ । इभेन्टका लागि आवश्यक टीम र स्टलहरुको संख्या पुगिसकेपछि दर्ता प्रक्रिया बन्द गरिनेछ ।

अहिलेसम्मकै बढी ५२ टीम खेलाइंदै

२४ औं गोर्खाकपमा अहिलेसम्मकै बढी ५२ टीम सहभागी गराइंदैछ । गत वर्षजस्तै मुख्य विधामा ३२ तथा भेटेरान विधामा १६ टीमबीच प्रतिस्पर्धा गराइनेछ । गत वर्ष २ टीम रहेको महिला विधामा भने यसपटक ४ टीम खेलाइनेछ ।

टीम दर्ता शुल्क मुख्य र भेटेरान दुवै विधामा ३ सय ५० पाउण्ड तथा महिला विधामा ३ सय पाउण्ड छ ।

टीम दर्ता संयोजक कुमार घलेका अनुसार टीम दर्ताका लागि तमुधिं यूके वेबसाइटमा तीन वटा फारम उपलब्ध हुनेछन् । जसमध्ये क्याप्टेनका लागि एक, टीमका लागि एक र १६ देखि १८ वर्षका खेलाडी भए अभिभावकको कन्सेन्टका लागि एक गरी तीन वटा फारम भर्नुपर्नेछ ।

टीम दर्ताको डेडलाइन मे ३ तारिख तोकिएको छ । तर, विगतको अनुभवमा केही दिनभित्रै आवश्यक संख्याका टीमहरु दर्ता भइसक्ने भएकाले इच्छुक टीमलाई समयमै दर्ता गर्न सल्लाह दिइएको छ ।

कम्तीमा १ सय १० स्टल

यसपटकको गोर्खाकपमा पनि गत वर्षजस्तै कम्तीमा १ सय १० स्टल रहनेछन् । जसमध्ये क्लोदिङ (कपडा) व्यापारका ३०, रेष्टुरेन्टका २०, अन्य व्यापारका ५०, र च्यारिटीको १० वटा हाराहारीमा स्टलहरु रहनेछन् ।

आइतबार ५ अप्रिल मध्यान्ह १२ बजेपछि स्टल दर्ताका लागि वेबसाइटमा उपलब्ध फारम भर्न सकिनेछ । टीम दर्तासम्बन्धि आवश्यक जानकारी तथा सहयोगका लागि संयोजक तमुधिं यूके उपाध्यक्ष दिलमाया गुरुङलाई सम्पर्क गर्न आव्हान गरिएको छ ।

संयोजक दिलमाया गुरुङका अनुसार गोर्खाकपमा स्टल दर्ता शुल्क क्लोदिङ व्यापारलाई ४ सय पाउण्ड, अरु व्यापारलाई ३ सय पाउण्ड र रेष्टुरेन्टलाई १ हजार पाउण्ड लाग्नेछ भने च्यारिटीलाई निशुल्क छ ।

२४ औं गार्खाकपको कमाण्ड संयोजक क्याप्टेन दीपक घलेले सम्हाल्दैछन्। कार्यक्रम सफल पार्न अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा संस्थाको सिंगो टीम यतिबेला सक्रियतासाथ तयारीमा जुटेको छ ।

टीम तथा स्टल दर्ता फारमका लागि:

तमुधिं यूकेको वेबसाइट

टीम दर्ता संयोजक
कुमार घले- 07846528283

स्टल दर्ता संयोजक
दिलमाया गुरुङ- 07713856540

२४ औं गोर्खाकप संयोजक
क्या. दीपक घले- 07384718093

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू