बेलायतमा ‘नेपाल डेभलपमेन्ट वाच’ गठन



लन्डन — नेपालसम्बन्धी विभिन्न विषयका विज्ञ तथा पेशाकर्मीहरूको एक समूहले बेलायतमा ‘नेपाल डेभलपमेन्ट वाच’ गठन गरेका छन्।
नेपाल डेभलपमेन्ट वाच बेलायत, जर्मनी र नेपालमा आधारित स्वतन्त्र, गैर-दलीय अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूको सञ्जाल हो, जसलाई आगामी दिनमा अन्य देशहरूमा समेत विस्तार गर्ने योजना रहेको छ।
पछिल्लो समय देखिएको जेन जी आन्दोलन तथा त्यसपछिको नयाँ सरकार गठनको सन्दर्भमा नेपाल डेभलपमेन्ट वाचले शिक्षा, स्वास्थ्य, वित्त तथा सुशासनका क्षेत्रमा भएका प्रगतिहरूको निगरानी गर्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार सन् २०२६ को मार्च महिनाको अन्त्यतिर गठन भएको अवस्थालाई आधार मानेर एनडीडब्ल्यूले प्रारम्भिक सूचकहरू (बेसलाइन इन्डिकेटर) तय गर्नेछ। सो आधारमा समय-समयमा प्रगतिको मूल्याङ्कन गरिने जनाइएको छ।
गहिरो अनुसन्धान, नीतिगत विश्लेषण तथा प्रमाणमा आधारित निष्कर्षहरूको प्रसारमार्फत नेपाल डेभलपमेन्ट वाच सार्वजनिक बहसलाई सूचित बनाउन, पारदर्शिता प्रवर्द्धन गर्न र नेपालमा नीतिनिर्माण प्रक्रियालाई सुदृढ बनाउन योगदान पुर्याउने लक्ष्य राखेको छ।
संस्थाले आफ्ना रुचिका क्षेत्रसँग सम्बन्धित सूचनाहरू संकलन गर्ने, नीतिगत विश्लेषण गर्ने तथा प्रगतिको नियमित अनुगमन गर्ने जनाएको छ। प्राप्त निष्कर्ष तथा सिफारिसहरू ब्रिफिङ पेपर, आवधिक प्रतिवेदन र प्रेस विज्ञप्तिमार्फत सम्बन्धित निकायसम्म पुर्याइनेछ।
नेपाल डेभलपमेन्ट वाचका संस्थापक सदस्यहरूमा डा. भरत सिम्खडा, डा. बिदुर घिमिरे, डा. बिना पाण्डे घिमिरे, प्रा डा बिनय कुमार कुशियत, डा सुदर्शन तिवारी, डा. जगन कार्की, डा. कृष्ण उपाध्याय, डा. मुकुन्द कट्टेल, डा. पुरुषोत्तम पौडेल, डा. श्याम चन्द तथा पत्रकार भगीरथ योगी रहेका छन्।
समूहको संयोजकमा डा. कृष्ण उपाध्याय छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


