प्रधानमन्त्री बालेन्द्रलाई युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको बधाई


लन्डन— युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संस्थाका तर्फबाट जारी एक वक्तव्यमा अध्यक्ष डा. मेड. बिनय के. श्रेष्ठ र सह-अध्यक्ष डा. दीप राज थापाले प्रधानमन्त्री शाहको नियुक्तिले नेपालमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण र समग्र राष्ट्रिय विकासमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरेका छन्।
वक्तव्यमा भनिएको छ, ‘युरोपभर कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा हामी तपाईंका उपलब्धिबाट प्रेरित छौं र नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन तपाईंको नेतृत्वमा महत्वपूर्ण प्रगति हुनेमा आशावादी छौं।’
उनीहरूले प्रधानमन्त्री शाहको नेतृत्वमा स्वास्थ्य सेवामा पहुँच विस्तार, सेवा गुणस्तरमा सुधार तथा विश्वभर रहेका नेपाली चिकित्सक समुदायसँग सहकार्य अभिवृद्धि हुने अपेक्षा समेत व्यक्त गरेका छन्।
संस्थाले प्रधानमन्त्री शाहलाई आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न धैर्यता, दूरदर्शिता र सफलताको कामना गर्दै उनको कार्यकालले नेपालमा समृद्धि, एकता र दीगो सकारात्मक परिवर्तन ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।
अगष्ट २०२४ मा स्थापना भएको सोसाइटीले युरोपेली संघ तथा युरोपेली आर्थिक क्षेत्रमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता वृद्धिमा सघाउनुका साथै नेपालको स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन सघाउने उद्देश्य लिएको छ।


