आइतबार, २९ मार्च, २०२६
23:57 | ०४:४२

डा भगवान कोइरालाको बाल अस्पताल निर्माण अभियानमा सघाउन लन्डनमा च्यारिटी डिनर

नेपाली लिङ्क मार्च २९, २०२६

वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइराला

लन्डन– वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गर्ने तयारी भएको छ ।

के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्‍याउने उद्देश्यले यही शनिबार, अप्रिल १८ मा एउटा च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमले समर्थक, दाता तथा शुभेच्छुकहरूलाई एकै ठाउँमा ल्याई बालबालिकाका लागि अत्यावश्यक स्वास्थ्य सेवा—जस्तै गम्भीर उपचार, विशिष्टीकृत सेवा तथा आवश्यक परिवारहरूलाई सहयोग मजबुत बनाउन आवश्यक रकम संकलन गर्ने लक्ष्य राखेको छ।

सन् २०१७ मा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) ले नेपालभरका बालबालिकाका लागि समग्र तथा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। इन्स्टिच्युटले गुणस्तरीय मात्र होइन, सुलभ, पहुँचयोग्य र उपलब्ध स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्य राखेको छ। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा इन्स्टिच्युटलाई सहयोग गर्ने लक्ष्यसहित के पाल्स यूके स्थापना गरिएको हो।

च्यारिटी इभेन्टबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपालमा बालबालिकाका लागि पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अभियानमा के–पाल्स यूकेजस्ता संस्थाहरूको सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा दमकमा सञ्चालित अस्पतालले गएको तीन वर्षमा २ लाख १५ हजार बढी बालबालिकाको उपचार गरिसकेको जानकारी दिंदै उक्त अस्पताल तथा काठमाडौँस्थित विशिष्टिकृत अस्पतालको निर्माण र सञ्चालनमा सहयोग गर्ने नेपाली डायस्पोरा तथा संघसंस्थालाई विशेष धन्यवाद दिए ।

उनले अस्पताल निर्माण प्रोजेक्टको हालसम्मको प्रगतिबारे अपडेट पनि दिए । नेपालको ७ वटै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल बनाउने किओचको अभियानअन्तर्गत हाल कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौँ (धापासी) मा बाल अस्पताल सञ्चालनमा आइसकेको छ।

के–पाल्स यूकेकी ट्रष्टी प्रसुना कंडेलले सञ्चालन गर्दै आफ्नो संस्था बेलायतमा च्यारिटी कमिसनमा दर्ता भएको र यसले डा. कोइरालाको अभियानमा विभिन्न किसिमबाट सहयोग गरिरहेको जनाइन् । कार्यक्रममा के–पाल्स यूकेका ट्रष्टीहरु प्रा डा सत्यन राजभण्डारी, डा रमेश कोजु, डा. दुर्गा सिग्देल तथा शिवजी श्रेष्ठले च्यारिटी डिनरबाट संकलित रकम किओचले बालबालिकाका लागि सेवा विस्तार तथा सुधारका लागि सञ्चालन गरिरहेको प्रयासमा प्रत्यक्ष रूपमा उपयोग गरिने जनाए ।

च्यारिटी कार्यक्रम विवरण:
मिति: शनिबार, १८ अप्रिल २०२६
स्थान: Blue Room Sports Venue, Harrow, London HA2 6LY
समय: बेलुका ५:३० बजे देखि

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू