शनिबार, २८ मार्च, २०२६
21:59 | ०३:४४

पर्वतेली च्यारिटी डिनर आउंदो शनिबार, कार्यवाहक राजदूत प्रमुख अतिथी

नेपाली लिङ्क मार्च २८, २०२६

लन्डन । पर्वत समाज यूकेले नेपाली नयां वर्ष २०८३ को अवसरमा आउंदो शनिबार गर्न लागेको च्यारिटी डिनर तयारी पूरा भएको छ ।

पर्वतेली गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर गर्ने तयारी भएको हो ।

समाजका अध्यक्ष सुरज पौडेलले कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथीका रुपमा सहभागी हुने निश्चित भएको बताए ।

नेपालबाट आएका राष्ट्रिय कलाकारहरु लोक गायिकाद्वय सोनी कुंवर र निरा थापामगरको प्रस्तुतिसहित स्थानीय कलाकारहरुको सांगीतिक माहोलमा उक्त च्यारिटी डिनर गर्ने योजना रहेको अध्यक्ष पौडेलले जनाए । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहनेछ ।

कार्यक्रम संयोजन उपाध्यक्षद्वय सन्जयध्वज भण्डारी र भिमलाल भट्टराईले गरेका छन् । टिकट मूल्य वयस्कहरुका लागि २५ पाउण्डमात्र तोकिएको छ भने ५ देखि १० वर्षसम्मका बालबालिकालाई जनही १० पाउण्ड छ ।

‘हामीले नेपाली नयां वर्ष २०८३ आगमनलाई च्यारिटीसंग जोड्न लागेका हौं । शुभकामना आदानप्रदान र गुड कजका लागि आयोजित यस च्यारिटीमा आएर सहयोग गरिदिनु हुन हामी सबैलाई अनुरोधसहित आमन्त्रण गर्दछौं’, अध्यक्ष सुरज पौडेलले भने ।

बेलायतको च्यारिटी कमिसनमा दर्ता भएकाले आर्थिक पारदर्शीता संस्थाको प्रमुख प्राथमिकता रहेको पनि उनले प्रष्टयाए ।

सन् २००२ मा स्थापित पर्वत समाज यूके बेलायतको च्यारिटी कमिसनमा दर्ता छ । बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू