एनएलडिसी यूके पुरस्कार लामिछाने, श्रेष्ठ र सन्तोषीलाई प्रदान गरिने



लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडिसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछाने, श्री जानकी माता धार्मिक संघ कोलकत्ता भारतका अध्यक्ष साहित्यकार गुञ्जदाश श्रेष्ठ र साँस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई प्रदान गर्ने भएको छ ।
परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार तीन दशक बढी समय अविछिन्न रूपमा रेडियो नेपालको वरिष्ठ समाचार वाचक रहेर नेपालको सञ्चार क्षेत्र र नेपाली साहित्य विकास परिषद् यूकेको नेपाल च्याप्टरमा स्थापनाकालदेखि तीन कार्यकाल महासचिव र सल्लाहकार रही नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न पुरयाएको योगदानको उच्चतम कदर गर्दै पत्रकार लामिछानेलाई पाँच तोला शुद्ध चाँदी र स्वर्ण लिपिमा बनेको एनएलडिसी साहित्य सञ्चार–पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपियाँ ५० हजार) द्वारा सम्मानित गरिने छ ।
हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस अघि बीबीसी नेपाली सेवाका पूर्व प्रमुख तथा परिषद्का पूर्व अध्यक्ष खगेन्द्र नेपाली, परिषद्का पूर्व अध्यक्ष साहित्यकार हरिसिंह थापा, नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पत्रकार नवीन पोखरेल र भिजन संसारका पत्रकार अभिमन्यू वैरागलाई प्रदान गरिएको थियो ।
यसैगरी भारत कोलकत्तामा रहेर नेपाली साहित्यका विविध गतिविधि र साहित्यिक पत्रिका प्रकाशन, नेपाली गीत सङ्गीत संयोजन तथा एल्वम् प्रकाशन साथै नेपाली साहित्य विकास परिषद् यूकेका साहित्यिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाइ नेपाली भाषा साहित्य, संस्कृति र गीतसङ्गीतको संरक्षण र सम्बर्धनमा उल्लेखनीय योगदान पुरयाएकामा श्री जानकी माता धार्मिक संघ कोलकत्ता भारतका अध्यक्ष सर्जक गुञ्जदाश श्रेष्ठ र साँस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई नेपाली साहित्य विकास परिषद् यूकेको मानार्थ आजीवन सदस्यता प्रदान गर्नुका साथै एनएलडिसी नेपाली साहित्य–कला पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपियाँ २० हजार) द्वारा सम्मानित गरिने छ । यो पुरस्कार यसअघि लन्डनका कलाकारहरू डम्बर सुव्वा र प्रमोद शर्मालाई प्रदान गरिएको थियो ।
नेपाली भाषा, साहित्य, कला र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने सर्जक, कलाकार र पत्रकारहरूलाई प्रदान गरिने यो पुरस्कार वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लद्वारा आ–आफ्ना बाबु आमाका नाममा सिर्जना र सेवाका लागि सन् २०११ मा नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना गरिएको हो ।
नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना सन् १९९५ मा वरिष्ठ साहित्यकार सुरेशजंग शाहद्वारा लन्डनमा गरिएको थियो । स्थापनाकालदेखि नै परिषदमा एनएलडिसी गोल्ड मेडल, एनएलडिसी साहित्य, कला र पत्रकारिता लगायतका विभिन्न १५ वटा पुरस्कार स्थापित गरी वितरण हुँदै आएका छन् । परिषदले साहित्यिक ग्रन्थ र लालीगुराँस साहित्यिक पत्रिका प्रकाशन लगायत नियमित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ । परिषद्को नेपालमा पनि च्याप्टर छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


