बेलायतको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै नेपालीहरु



लन्डन । संयुक्त अधिराज्यका चारमध्ये तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा आउंदो ७ मेमा स्थानीय निर्वाचन हुंदैछ । १३६ स्थानीय काउन्सिलमा लगभग ५ हजार सिटका लागि निर्वाचन तयारी छ ।
सन् २०२४ को आमनिर्वाचन पछि हुन लागेको सबैभन्दा ठूलो यस निर्वाचनमार्फत स्कटल्याण्ड र वेल्स्का मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि छनोट गर्नेछन् भने इङ्गल्याण्डका ३० इंग्लिस काउन्सिलमा काउन्सिलर र मेयर चुनिनेछन् ।
साथै, इंग्ल्याण्डका क्रोयडन, ह्याक्नी, लुइसाम, न्यूह्याम, टावर ह्यामलेट्स र वाटफोर्डमा छ मेयर पदको चुनाव पनि हुनेछ ।
नर्दर्न आयरल्याण्डमा भने काउन्सिलर र विधानसभा चुनाव आउंदो वर्ष मे २०२७ मा तय गरिएको छ ।
यसपटक स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरु पनि मैदानमा उत्रिएका छन् । यतिखेर उनीहरु आफ्नो चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् ।
भूतपूर्व ब्रिटिश गोर्खा उत्तरबहादुर गुरुङ नेपालीहरुको उल्लेख्य बसोवास रहेको रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् ।
६६ वर्षीय गुरुङ सत्तारुढ पार्टी लेबरका तर्फबाट काउन्सिलर उम्मेदवार बनेका हुन् ।
लेबर पार्टी अभियानमा सन् २००७ देखि नै जोडिएका गुरुङ सन् २०११ पछि सक्रिय बने । सन् २०२४ मा सम्पन्न बेलायतको आमनिर्वाचनमा त उनी लेबर नेतृ अलेक्स बेकरलाई जिताउन मैदानमा निकै खटिए । अलेक्स बेकरले अल्डरसट क्षेत्रबाट लेबर सांसद पनि जितिन् ।
त्यतिबेलैदेखि अलेक्ससंग निकट रहेका उत्तरबहादुर लेबरको आग्रहमै वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेको बताउंछन् ।
काउन्सिलर बनेर समुदायको हितमा काम गर्ने इच्छा उनको छ । आफूले काउन्सिलर नबन्दै, वेलफेयर अफिस नहुंदा पनि भूतपूर्व वृद्धवृद्धालाई सन् २००६, २००७ देखि धेरै कल्याणकारी काम गरेको र अब पनि निरन्तरता दिने उनले बताए ।
समुदायमा ‘एण्टी सोसल बिहेभीयर’ बढेको जनगुनासो आएकाले प्रहरीसंग समन्वय गरि त्यसको नियन्त्रणमा काम गर्ने उनको एजेण्डा छ । जनताको स्वास्थ्य सेवा छिटो र सुलभ बनाउन लाग्ने पनि उनले बताए ।
उनकै वार्ड वेलिङटनमा अर्का नेपालीमूलका चिकित्सक डा. विशाल गुरुङ पनि कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका छन् । नेपालीमूलका दुई उम्मेदवार एउटै वडामा प्रतिष्पर्धा हुनुलाई रोचक ठानिएको छ ।
बेलायतको नेपाली राजधानी मानिने अल्डरसटमा परिचित छन् डा. विशाल । वर्षेनी नेपाल गएर निशुल्क आंखा शिविर गर्दै आएका उनी तमुधिं यूके महासचिव र ग्रेटर रसमोर नेपलिज कम्युनिटी उपाध्यक्ष पनि हुन् । उनले सुरक्षित र सफा शहर, युवाहरुका लागि अवसर सृजना, स्थानीय समुदायहरूलाई एकसाथ ल्याउने (इन्टिग्रेसन) एजेण्डा अघि सारेका छन् ।
‘मैले धेरै समयदेखि स्वयंसेवक बनेर अल्डरसटका नेपालीको हितमा काम गरें । वृद्धवृद्धा बाआमालाई हाउजिङ बेनिफिट, पेन्सन क्रेडिट दिलाउन होस् वा युवाको रोजगारीका लागि काउन्सिलसंग समन्वय र सहकार्य होस् म सक्रिय भएं’- उनले सुनाए, ‘यसरी काम गर्दा मलाई के लाग्यो भने हामी नेपालीमूलका काउन्सिलर काउन्सिलमा जति धेरै हुन सक्यो त्यति हाम्रा समस्या स्थानीय तहमा राख्न सकिने रहेछ भनेर म काउन्सिलर उम्मेदवार बनेको हुं ।’
भविष्यमा सांसदसम्म बनेर आउने पिढीलाई संसदीय यात्रामा लाग्न प्रेरित गर्ने उनको सपना छ ।
उनको वडामा बस्ने करिब १२ हजारमध्ये रजिष्टर्ड भोटर्स संख्या ५२०० हाराहारी छ । नेपालीमूलका मतदाता भने करिब ५ सय छन् ।

उता, रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लीनडन वार्डमा पनि दुई जना नेपाली चुनावी मैदानमा छन् ।
सन् २००८ मा हाइली स्किल माइग्रेन्ट स्किममा बेलायत आएका जीत रानाभाट सन् २०२२ मा काउन्सिलर निर्वाचित भएका थिए । उनी फेरि लेबर एण्ड कोअपरेटिभ पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । रानाभाटले मेयर र उपमेयरको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
‘राजनीतिमा लागेपछि कि रिटायर्ड हुनु परयो कि निरन्तरता’, उनले भने, ‘पार्टीले नै तय गरेको एजेण्डा छ मेरो । विगतमा पनि म स्थानीय बासिन्दाहरुको समस्या समाधान र उनीहरुको दरिलो आवाज लिएर प्रस्तुत भएं । यसपटक पनि समुदायकै लागि समर्पित हुनेछु ।’
हाल सत्तामा रहेको लेबर समाजवादी पार्टी भएको र यसले मजदुर वर्ग र आप्रवासीका मुद्दालाई बढी प्राथमिकता दिने उनी बताउंछन् ।
साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपति नाथ मन्दिरका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्ता नरेन्द्र कंडेल पनि प्लमस्टिड एण्ड ग्लीनडन वार्डमा स्वतन्त्र रुपमा उठेका छन् ।
कंडेलले आफू संयुक्त अधिराज्यको नयां समाजवादी राजनीतिक दल योर पार्टीको समर्थनमा चुनावी मैदानमा उत्रिएको बताए । कंडेलले आफूलाई ग्रीन पार्टीले समेत सहयोग गर्ने वचन दिएको दावी गरे ।
योर पार्टीको घोषणा गत वर्ष जुलाई २०२५ मा जेरेमी कोर्बिन र जाराह सुल्तानाले गरेका थिए ।
आफू सन् २००८ तिर पनि स्थानीय चुनाव लडेको स्मरण गर्दै उनले नेपालीका मुद्दालाई काउन्सिलमा लैजान सकिन्छ कि भनेर उम्मेदवारी दिएको बताए ।
आफू उठेको वडामा कार पार्क र सार्वजनिक शौचालय समस्या, गोर्खा वृद्धवृद्धा काउन्सिलबाट प्राप्त हुने सुविधा लिन वञ्चित रहेका, बढ्दो अपराध लगायत समस्या निराकरण गर्दै केही परिवर्तन ल्याउन सकिने विश्वासका साथ उम्मेदवार बनेको कंडेलले बताए ।
उता, गौमाया गुरुङ लेबर एण्ड कोअपरेटिभ पार्टीबाट रोयल बरो अफ ग्रीनवीचको एबीउड वार्डमा पहिलोपटक काउन्सिलर उम्मेदवार बनेकी छन् । करिब १० वर्षअघि यस पार्टीको सदस्यता लिएको बताउने उनी ग्रीनवीच ममिज् फोरमको अध्यक्ष हुन् भने पार्टीको प्लमस्टिड ब्रान्चको कोषाध्यक्ष ।
सन् २००९ देखि बेलायतमा वसोवासरत गौमायाले यसअघि काउन्सिलर नरहंदा पनि स्थानीय समुदायमा बालबालिकाको हित र आमाहरुको सशक्तिकरण कार्यक्रम, कोषअभिवृद्धिका लागि विभिन्न च्यारिटी, वृद्ध र असक्त वासिन्दाहरुका लागि सहयोग, पार्क सफाइ, फोहरमैला व्यवस्थापन आदि काम गरेको बताउंदै अब पनि त्यसलाई निरन्तरता दिने बताइन् ।
‘मैले आमा र बच्चाहरूलाई सशक्त बनाउने कला, फिटनेस र वातावरणीय कार्यक्रमहरूको नेतृत्व गरिरहेको छु’, उनले सुनाइन्, ‘भविष्यमा पनि समुदायको हित र कल्याणकारी कार्यमा मेरो समय खर्च हुनेछ ।’
ग्रीनवीचमा परिवर्तनको उद्घोष गर्दै सोलिसिटर टम अधिकारी पनि वुलवीच डकयार्डका लागि स्वतन्त्र समाजवादी एवं सामुदायिक उम्मेदवारका रुपमा लड्ने निर्णय गरेका छन् ।
लेबर पकड रहेको ग्रीनवीचमा स्थानीय वासिन्दाका वास्तविक सरोकारहरूलाई बेवास्ता गरिएको दावी गर्दै अधिकारीले जनताको आवाज बुलन्द पार्न उम्मेदवारी दिने निर्णय लिएको बताए ।
‘म हाल वुलवीच प्लमस्टेड नेपलिज कम्युनिटीको अध्यक्षका रूपमा सबै पृष्ठभूमिका बासिन्दालाई एकसाथ ल्याउन र सहयोग गर्न काम गरिरहेको छु’, उनले भने, ‘मलाई विश्वास छ राजनीति स्थानीय जनताको कुरा सुन्ने र हाम्रो समुदायको पक्षमा उभिनेबाट सुरु हुनुपर्छ । जब हामी सँगै काम गर्छौं, तब अर्थपूर्ण परिवर्तन हासिल गर्न सक्छौं भन्ने लाग्छ ।’
बेलायतको स्थानीय राजनीतिमा नेपालीहरु काउन्सिलर, उपमेयर र मेयरसम्म बन्ने क्रम बढ्दै गएको छ । तर, संसद प्रवेश भने सपना जस्तै छ । एकपटक नेपालीमूलका डा. बच्चुकैलाश कैनी सांसद पदका उम्मेदवार बनेपनि उनी सफल भएनन् ।

उत्तरबहादुर गुरुङ

डा. विशाल गुरुङ

नरेन्द्र कंडेल

टम अधिकारी

जीत रानाभाट

गौमाया गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


