कीर्तिमानी पूर्व गोर्खा आरोही बुढामगर अब ‘कन्क्वेरिङ ड्रिम्स’ पुस्तकमा



लन्डन । विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही पूर्व गोर्खा सैनिक हरि बुढामगरको पुस्तक बजारमा आउने तयारीमा छ ।
उनको पुस्तक ‘कन्क्वेरिङ ड्रिम्स’ आउंदो २७ अगस्ट २०२६ मा मिरर बुक्सद्वारा प्रकाशित हुन लागेको हो । उक्त पुस्तक अमेजन र वाटरस्टोन्समा ‘प्रि–अर्डर’ गर्न उपलब्ध रहेको बुढामगरले जनाएका छन् ।
आरोही बुढामगरले पुस्तकको नाम सगरमाथा आरोहण गर्ने आफ्नो बाल्यकालको सपनाबाट जुराएका हुन् । पछि ‘कन्क्वेरिङ ड्रिम्स’ उनको सगरमाथा र सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) आरोहण अभियानहरूको नाम बन्यो जसले ५ वटा पहिलो विश्व रेकर्ड कायम गरेको छ । सगरमाथा, डेनाली, कार्सटेन्ज पिरामिड, माउण्ट भिन्सन र सेभेन समिट आरोहणमा उनको विश्व कीर्तिमान छ ।
‘मलाई आशा छ कि यो पुस्तकले पाठकहरूलाई आफ्नै पहाड चढ्न र आफ्नै सपनाहरू साकार पार्न प्रेरित गर्नेछ’, उनले भनेका छन्, ‘चाहे त्यो जेसुकै होस् सपना असिमित हुन्छन् । हामी एउटालाई जित्छौं त्यसपछि अर्को देखा पर्छ। यो हामी के गर्छौं भन्ने बारेमा होइन, यो हामी किन गर्छौं भन्ने बारेमा हो । जीवनमा उद्देश्य खोज्नु सबैभन्दा शक्तिशाली छ ।’
बुढामगरका अनुसार, सन् २०२३ मा उनीसंगै ४७८ जना सगरमाथा चढ्न गए र केवल ५२ प्रतिशत आरोही शिखर पुग्न सफल भए । यस क्रममा १७ जनाको मृत्यु भयो । ‘ति प्रत्येक आरोहीसँग सगरमाथा चढ्ने आफ्नै कारण थियो । उनीहरूले शिखर चढ्न लिएको जोखिम एकदमै मनमोहक, अविश्वसनीय, प्रेरणादायी र शक्तिशाली थियो’, उक्त आरोहणमा सफलता हासिल गरेका बुढामगर भन्छन्- ‘मैले पुस्तकमा सबै कुरा समेटेको छु ।’

‘तपाईंको जीवनमा जुनसुकै पहाड चढ्नुभयो वा चढ्ने सपना देख्नुभयो भने पनि बाटोमा चुनौतीहरूको सामना गर्नुहुनेछ’, उनी भन्छन्, ‘मलाई आशा छ यो पुस्तकले तपाईंलाई ती चुनौतीहरू सामना गर्न, कठिन हुँदा यसलाई जारी राख्न र एक–एक गरी पार गर्न मद्दत गर्नेछ, प्रेरणा र साहस दिनेछ । यो पुस्तकले जीवनमा संघर्ष गरिरहेकाहरूलाई आशा दिने र आशावादी बनाउनेछ ।’
तर, सबैभन्दा महत्त्वपूर्ण कुरा पुस्तकले विश्वभर अपाङ्गता सम्बन्धी जागरूकता जगाउने र अपाङ्गता भएका व्यक्तिहरुका लागि के सम्भव छ देखाउने उनको विश्वास छ ।
प्रकाशोन्मुख पुस्तकमा यसअघि लेख, अन्तर्वार्ता वा साक्षात्कारमा पहिले कहिल्यै नभनिएको आफ्नो कथा पढ्न एवं मानसिकता र उद्देश्य बुझ्न पाइने बुढामगरले बताए ।
आफ्नो भविष्य सुन्दर बनाउने सपना साँचेर १९ वर्षमै ब्रिटिस सेनामा भर्ना भएका थिए रोल्पा थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगर ।
३१ वर्षको उमेर थियो, रोयल गोर्खा राइफल्समा कार्यरत उनी जागिरकै दौरान सन् २०१० मा अफगानिस्तानको लडाइँमा खटिँदा एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला टेकेर विष्फोट हुँदा घुँडाभन्दा माथि दुवै खुट्टा गुमाए । दुवै खुट्टा गुमाएपछि शुरुतिर उनी विक्षिप्त बने, आत्महत्या गर्ने सम्म सोच्न थाले । तर, जीवनदेखि हार नखाई आत्मबल लिएर उनी आरोहणमा लागे ।
बुढामगर परिवारका साथ हाल बेलायत क्यान्टबरीमा बस्छन् । उनले गत वर्ष मात्र बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


