आइतबार, २२ मार्च, २०२६
21:57 | ०३:४२

इरानी क्षेप्यास्त्र लन्डनसम्म आइपुग्ने चेतावनीपछि बढ्दो सुरक्षा चिन्ता

नेपाली लिङ्क मार्च २२, २०२६

लन्डन । इरानले चागोस् टापुमा अवस्थित बेलायत–अमेरिका सैन्य अड्डा डिएगो गार्सियातर्फ दुई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि युरोपेली शहर कति सुरक्षित छन् भन्नेबारे वहस शुरु भएको छ ।

इजरायलले इरानी क्षेप्यास्त्रको खतरा युरोपेली शहर लन्डन, पेरिस र बर्लिनसम्म हुने चेतावनी दिएपछि यसतर्फ धेरैको ध्यान आकर्षित भएको हो । इजरायली सेनाले इरानी क्षेप्यास्त्रहरू २,४८५ माइलभन्दा टाढासम्म पुग्न सक्ने दाबी गरेको छ, जसले युरोपेली देशहरूका लागि सम्भावित खतरा निम्त्याउन सक्छ ।

‘हामीले भन्दै आएका छौं कि इरानको आतंकवादी सत्ताले विश्वव्यापी खतरा निम्त्याएको छ’- इजरायली रक्षा बल (आइडिएफ) को धारणा छ ।

यद्यपि, विज्ञहरुले इरानमाथि आफ्नो युद्धका लागि समर्थन जुटाउन इजरायलले वास्तविकता भन्दा बढी बढाइचढाइ गरेको आरोप पनि लगाएका छन् । यदि इरानसँग बेलायतसम्म प्रहार गर्ने क्षमता छ भने बेलायत कमजोर रहने जिकिर उनीहरुको छ ।

उता, बेलायत इरानी क्षेप्यास्त्रहरूबाट सुरक्षित रहेको यहांका एक मन्त्रीले जिकिर गरेका छन् । बेलायत सरकारले तेहरानले बेलायतसम्म आइपुग्न सक्ने लामो दूरीको क्षेप्यास्त्र विकास गरेको ‘आश्चर्यजनक दाबी’ लाई बेवास्ता गरेको छ ।

बेलायत इरानी खतराबाट सुरक्षित छ भन्ने कुरामा जोड दिँदै हाउजिङ मन्त्री स्टीभ रीडले स्काई न्यूजको सन्डे मर्निङ वीथ ट्रेभर फिलिप्स कार्यक्रममा भनेका छन् ‘हामीसँग संयुक्त अधिराज्यलाई सुरक्षित राख्ने प्रणाली र प्रतिरक्षाहरू छन् ।’

उनले इरानबाट हजारौं माइल टाढा रहेको डिएगो गार्सियामा क्षेप्यास्त्रहरू कति नजिक पुगेका थिए भनेर बारम्बार भन्न अस्वीकार गरेपनि एउटालाई निस्तेज पारिएको र अर्को असफल भएको तथ्यले बेलायती रक्षात्मक क्षमताहरू सही छन् भन्ने प्रमाणित गरेको पनि बताए ।

चौंथो सातामा प्रवेश गरेको इरानमाथि अमेरिकी इजरायली युद्धमा बेलायत प्रत्यक्ष रुपमा होमिन चाहेको छैन् । बेलायती विदेशमन्त्री यभेट कुपरले डिएगो गार्सिया टापुमा अवस्थित संयुक्त अमेरिकी–बेलायत सैन्य अड्डामा इरानी आक्रमणको निन्दा गरेकी छन् । उनले बेलायतले द्वन्द्वमा अमेरिका र इजरायलभन्दा फरक अडान लिएको कुरामा पनि जोड दिएकी छन्।

मन्त्री कुपरले बेलायतले जारी यस युद्धको द्रुत समाधान हेर्न चाहेको बताउँदै सरकारले इरानको ‘लापरवाह धम्की’ विरुद्ध रक्षात्मक कारवाहीलाई समर्थन गरिरहेको पनि प्रष्ट पारेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू