एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ नयाँ वर्ष कार्यक्रम गर्दै



नैकापस्थित सृजनशील विशेष शिक्षा विद्यालयमा आश्रित बालबालिका
लन्डन– यूकेमा सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले अपांग बालबालिकाको सहयोगार्थ नयाँ वर्ष २०८३ को अवसरमा ‘शुभकामना साँझ’ गर्ने तयारी गरेको छ ।
आगामी अप्रिल १२, २०२६ (आइतबार) ब्लु रुम, २२० हेडस्टोन लेन, ह्यारोमा आयोजना हुने उक्त कार्यक्रम साँझ ५ः३० देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख आकर्षण रोचक गीत संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति रहने छन्।
सांस्कृतिक र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमले नेपाली समुदायलाई एकै स्थानमा भेला भई रमाइलो गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले लाइभ म्यूजिक, डिजे तथा नृत्य सत्र, समूहगत सांस्कृतिक प्रस्तुति लगायतका आकर्षक मनोरञ्जनको आनन्द लिन सक्नेछन्। साथै, कार्यक्रमले परिवार तथा साथीभाइसँग भेटघाट, संवाद र सहभोजमार्फत समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको एनबीसी यूकेका अध्यक्ष समीरनाथ प्याकुरेलले बताए ।
सो कार्यक्रममा सहभागी हुन १३ वर्षमाथिका सहभागीका लागि ४० पाउण्ड तथा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि २० पाउण्ड शुल्क तोकिएको छ।
एनबीसी यूकेले यस कार्यक्रममार्फत संकलित रकमबाट वचत हुने राशी नेपालस्थित चन्द्रागिरी नगरपालिका–१४, नैकापमा रहेको ‘सृजनशील विशेष शिक्षा विद्यालय’ लाई सहयोग गर्ने जनाएको छ । उक्त विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा विकासमा योगदान पुर्याउँदै आएको छ ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी भई नयाँ वर्ष मनाउनुका साथै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने अवसर समेत प्राप्त हुने भएकाले समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।
सिट संख्या सीमित भएकाले यो लिंकमा गएर समयमै बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


