बिहीबार, १९ मार्च, २०२६
00:57 | ०६:४२

अल्डरसटबाट ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु

नेपाली लिङ्क मार्च १८, २०२६

लन्डन– ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु भएको छ । अल्डरसटस्थित ग्यारिसन स्पोर्टस सेन्टर, रावलिन्सन रोडमा आइतबार आयोजित खेलमा पाँच टोलीले सहभागिता जनाए ।

लिगअन्तर्गत पहिलो खेल ह्याम्पसायर हुपर्स र ग्रीनफोर्ड नाइट्सबीच र दोस्रो खेल कोलचेस्टर एलिट्स र स्यान्डहस्र्ट निक्सबीच भएको थियो।

यसैगरी तेस्रो खेल डीबीएस र ग्रीनफोर्ड रोभर्सबीच सम्पन्न भयो भने चौथो खेल बेजीङस्टोक माम्बास र साउथ आशफोर्ड वुल्भ्सबीच खेलिएको थियो ।

पाँचौँ खेल हिमालयन हीट र बलर स्ल्यामर्सबीच भएको थियो ।

यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्। लिग चरणपछि क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ ।

महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुने नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले बताए ।

उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी) संग पनि सहकार्य भइरहेको गुरुङले जनाए। उनले प्रमुख प्रायोजक ए स्टार लगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए ।

लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र एल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने ४ जुलाई २०२६ मा सम्पन्न हुने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।

नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पांचवटा गेम 
सञ्चालन हुने, टप ८ वटा टोली नक आउटमा पुग्ने र त्यस पछि क्वार्टर फाइनल, सेमी फाइनल्स र फाइनल प्रतियोगिता हुने जनाए ।

उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र उक्त प्रतियोगितामा १८ वर्ष भन्दा मुनीका युवाहरुको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको बताए ।

सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए ।

युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुरयाउंदै आएको पनि दर्लामीले जनाए ।

सन् २०११ मा स्थापना भएको ए स्टार फाइनान्सियल सलुशन्सले बेलायतमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायलाई मोर्गेज, रियल एस्टेट, बिमा, विल लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

सो कम्पनीले नेपाली समुदायद्वारा आयोजित रचनात्मक काममा सक्दो सहयोग पनि गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू