सोमबार, १५ जुन, २०२६
23:08 | ०३:५३

पत्रकार धामीको उपचारका लागि महासंघ बेलायत शाखाले गर्‍यो सहयोग

नेपाली लिङ्क मार्च १७, २०२६


लन्डन- नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचाररत धामीको सहयोगार्थ बेलायत शाखाले ६५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव विश्वासदीप तिगेला र कार्यसमिति सदस्य बाचस्पति रेग्मीसहितको टोलीमार्फत संकलित रकम महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई केन्द्रीय कार्यालयमा पुगेर हस्तान्तरण गरिएको छ।

गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पताल भर्ना भएका धामीको शल्यक्रिया र त्यसपछिको संक्रमणका कारण उपचार खर्च महँगो भएको थियो।

पत्रकारिता बाहेक आयआर्जनको अन्य बलियो स्रोत नभएका धामीको परिवारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि अपील गरेको थियो। सोही अपीलका आधारमा केन्द्रले बेलायत शाखालाई सहयोगका लागि समन्वय गरेको थियो।


रकम बुझ्दै महासंघले संकटको घडीमा विदेशमा रहेका पत्रकार साथीहरूबाट प्राप्त यो सहयोगले ठूलो राहत पुग्ने बताएको छ। महासंघले सहयोगका लागि बेलायत शाखाप्रति आभार समेत व्यक्त गरेको छ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले यसअघि पनि आपतविपतमा परेका पत्रकारका लागि विभिन्न किसिमका सहयोग गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू