एडिनबरामा एनआरएनए यूके र नेपाल स्कटल्यान्ड एशोसिएसनको नारी दिवस


एडिनबरा- गैरआवासीय नेपाली संघ यूकेको आयोजना र नेपाल स्कटल्यान्ड एसोसियसन महिला समूहको सहयोगमा स्कटल्यान्डको राजधानी शहर एडिनबरामा ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
संस्थाकी सल्लाहकार प्रकृति थापा प्याकुरेलको सभापतित्वमा सोमबार स्थानीय नेपाली समुदायका महिलाहरुको उल्लेख्य सहभागितामा नारी दिवस मनाइएको हो ।
कार्यक्रममा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो ।
सोही अवसरमा स्कटल्यान्डका रहेर समाजसेवामा योगदान गरेका एक दर्जन महिलालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले नारी दिवसको शुभकामना दिए ।
उनले नेपाली महिलाहरुको सशक्तिकरण र सामाजिक स्तरको सहभागिता सुदृढिकरणको लागि कार्यक्रमले प्रोत्साहन गर्ने आशा व्यक्त गरेका थिए ।
नारी दिवसको शुभकामना दिन एनआरएनए यूके महासचिव दिवाकर पान्डेय, उपाध्यक्षद्वय उज्ज्वल कार्की र राम प्रसाद कंडेल, सल्लाहकारहरु तथा स्कटल्यान्डका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए यूके कार्यसमिति सदस्य तथा कार्यक्रम सहसंयोजक रीता कार्कीले सञ्चालन गरेको कार्यक्रममा नेपाल स्कटल्यान्ड एशोसिएसनको महिला समिति अध्यक्ष शारदा दाहालले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमकी संयोजक कमला श्रेष्ठ नेपालमा रहेकाले भौतिक रुपमा उपस्थिति जनाउन नसकेपनि संयोजनको जिम्मेवारीनिर्वाह गरेकी थिइन् ।
एनआरएनए यूके महासचिव दिवाकर पाण्डेले नारी दिवस कार्यक्रमका सम्पूर्ण सहभागी, अतिथि एवम् कार्यक्रम सफल पार्न योगदान गर्ने संयोजक, सहसंयोजकसहित सबै महिला अभियन्ताहरुलाई पनि संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।




सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


