सोमबार, ९ मार्च, २०२६
23:02 | ०४:४७

लन्डनमा सिरुबारीवासीले गरे भेला

नेपाली लिङ्क मार्च ९, २०२६

लन्डन । बेलायतमा बसोबास गर्ने सिरुबारीवासीहरूको भेटघाट कार्यक्रम लन्डनस्थित 
ह्यारो स्पोर्टस् क्लवमा सम्पन्न भएको छ ।

गत मार्च ७, २०२६ शनिबार आयोजित कार्यक्रममा बेलायतको व्यस्त जीवन बाबजुद पनि गाउँप्रतिको माया र एकताको भावनाले विभिन्न स्थानबाट सिरुबारीवासीहरू सहभागी भएका थिए ।

सिरुबारीवासीहरूले आफ्नो गाउँ, संस्कृति र सम्बन्धलाई अझ मजबुत बनाउने अठोट व्यक्त गरेका छन्।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष तथा समाजसेवी डेबिड गुरुङ र कार्यक्रम सञ्चालन महासचिव धन बहादुर गुरुङले गरेका थिए ।

कार्यक्रमको औपचारिक उद्घाटन समाजका ज्येष्ठ सदस्यहरू देउ बहादुर गुरुङ, निर्मला गुरुङ, रुद्र बहादुर गुरुङ र भीम बहादुर गुरुङले पानसमा बत्ती बालेर गरेका थिए । त्यसपछि हालै इरानमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

भेटघाट कार्यक्रममा चर्चित नेपाली लोक वाद्य समूह कुटुम्बका व्यवस्थापक तथा टेक्निकल कोअर्डिनेटर सिरुबारीकै सुपुत्र अरुण गुरुङको पनि उपस्थिति थियो ।

कार्यक्रमका अवसरमा समुदायका सदस्य हवल्दार भीम बहादुर गुरुङ र श्रीमती विष्णु गुरुङ का सुपुत्र सार्जन्ट निशान गुरुङले बेलायतमा नयाँ घर खरिद गरेको तथा दुई सन्तान जन्मिएको खुशीयाली मनाइएको थियो। साथै कुटुम्ब ब्यान्डसँग सम्बन्धित कार्यका लागि यूके आएका अरुण गुरुङलाई पनि सिरुबारी समाज बेलायतले फेटा र खादा लगाएर सम्मान गरेको थियो ।

भेलामा सहभागीहरूले एकअर्कासँग भलाकुसारी गर्दै आफ्नो पुर्खौली गाउँ सिरुबारीको संस्कृति, परम्परा र बाउबाजेले स्थापित गरेका रितिथितीहरू कसरी जगेर्ना गर्ने भन्ने विषयमा गहन छलफल गरे । विदेशमा बस्दा नयाँ पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण, गाउँलाई आत्मनिर्भर बनाउने र विकासमा सहयोग गर्ने विषयमा पनि सहभागीहरूले विचार राखेका थिए ।

कार्यक्रममा राफल ड्र समेत गरिएको थियो। सुनको ‘चन्द्रमा’ पुरस्कार समाजका उपाध्यक्ष नवराज गुरुङ लाई परेपनि उनले नारीको गहना नारीलाई नै पर्नु पर्छ भन्दै पुनः ड्र गर्न आग्रह गरेका थिए । पुनः गरिएको ड्रमा उक्त पुरस्कार सिरुबारी नाँसाकी चेली युद्ध गुरुङलाई परेको थियो। सो पुरस्कार कृष्ण ज्वेलरीले प्रायोजन गरेको थियो भने समाजका अध्यक्ष डेबिड गुरुङकी धर्मपत्नी बीना गुरुङले पिउने पानी प्रायोजन गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा गायिका सोनी कुँवार क्षेत्रीको सुमधुर स्वरमा सहभागीहरूले भरपुर मनोरञ्जन लिँदै सामूहिक नाचगान गरेका थिए ।

समुदायका अगुवा तथा समाजसेवी डेबिड गुरुङको सक्रिय नेतृत्वमा सम्पन्न यो भेला केवल भेटघाट मात्र नभई विदेशमा बसेर पनि गाउँ, संस्कृति र एकतालाई जोगाउने प्रेरणादायी उदाहरण बनेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू