सोमबार, ९ मार्च, २०२६
05:54 | ११:३९

नटिङहममा महिला समूहले मनायो नारी दिवस

नेपाली लिङ्क मार्च ८, २०२६

लन्डन- मिडल्यान्डको नटिङहम क्षेत्रमा बस्ने नेपाली महिलाहरुले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस एक विशेष कार्यक्रमबीच मनाएका छन्।

महिला समूह नटिङहमको आयोजनामा स्थानीय ब्राइक ब्यांकेटिङ हलमा शनिबार विविध सांस्कृतिक कार्यक्रमसहित नारी दिवस मनाइएको हो।

समूहकी अध्यक्ष विष्णु खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरुले नारी दिवसको शुभकामना आदानप्रदान गर्दै कवितावाचन, गीत, नृत्य, भजनलगायतका प्रस्तुति गरेका थिए।

सो अवसरमा समूहकी अध्यक्ष विष्णु खरालले नारी दिवसको शुभकामना दिंदै महिला सशक्तिकरणका विषयमा मन्तव्य राखेकी थिइन्। कार्यक्रममा अतिथिका रुपमा सहभागी नटिङहम नेपाली समाजका अध्यक्ष लोकनाथ अधिकारी, संस्थापक अध्यक्ष रण केसीलगायतले पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै, समूहकी संस्थापक अध्यक्ष गीता भट्टराई र निवर्तमान अध्यक्ष निरु चालिसेले पनि आफ्ना धारणा व्यक्त गरे ।

उपाध्यक्ष सरु सापकोटाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सञ्चालन महिला महासचिव शकुन्तला न्यौपानेले गरेकी थिइन्। सचिव मीना खरेलले ‘हेल्थ एण्ड सेफ्टी ब्रिफ’ तथा कोषाध्यक्ष पुतली कँडेलले कार्यक्रमको आर्थिक विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा मेनुका कँडेल र सीता भण्डारीले कविता वाचन गरेका थिए। साथै साना नानीहरू तथा दिदीबहिनीहरूको नृत्य र मौलिक भजन कार्यक्रमले वातावरण थप रमाइलो बनाएको थियो। कार्यक्रममा कार्यसमिति सदस्य, एरिया लिडरहरू तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता थियो।

सांस्कृतिक कार्यक्रमतर्फ मेनुका बस्नेत, एलिना क्षेत्री र अस्मिता खरालले कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा नेपाली कला तथा संस्कृति झल्काउने विविध प्रस्तुति गरिएको थियो ।

सोही अवसरमा समूहका नयाँ सदस्यहरूलाई पनि स्वागत गरिएको थियो। नेपालबाट आएका आमाहरूलाई खादा तथा माला लगाएर सम्मान गरिएको थियो।

कार्यक्रमका लागि हल सजावटमा बालकुमारी खड्का, विष्णु खराल, ईशा कँडेल, अस्मिता खराल, पुतली कँडेल र शकुन्तला न्यौपानेको विशेष भूमिका थियो। दुर्गा सापकोटा र पूर्ण कँडेलले स्वादिष्ट परिकार तयार पारेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू