शिम्मी पुनलाई लन्डन ग्रीनवीच बरोको सिभिक अवार्ड



लन्डन- बेलायतको नेपाली समुदायकी एक सक्रिय अभियन्ता शिम्मी पुन लन्डन रोयल बरो अफ ग्रीनवीचको सिभिक अवार्डबाट सम्मानित भएकी छन् ।
भूतपूर्व गोर्खा समुदायका वृद्धाहरुको सहयोगमा पुर्याएको योगदानको कदरस्वरुप उनलाई ग्रीनवीच बरोले स्वयमसेवा विधामा सन् २०२६ को सिभिक अवार्डबाट सम्मान गरेको हो ।
गत शुक्रबार वुल्लीच टाउन हलमा आयोजित एक समारोहमा बरोका मेयर तथा काउन्सिल लिडरलगायतले पुनलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
बेलायती गोर्खा सैनिकको परिवारमा हङकङमा जन्मिएकी शिम्मी पुन पोखरामा हुर्किएकी हुन्। गोर्खा परिवारमा हुर्किँदा सिकेको अनुशासन, सेवा र समर्पणको भावनाले नै उनलाई सामाजिक सेवातर्फ प्रेरित गरेको उनी बताउँछिन्।
बेलायतमा बसोबास गर्ने गोर्खा समुदायका धेरै वृद्धाहरुले भाषा समस्या, सांस्कृतिक फरकपन तथा सामाजिक एक्लोपनको चुनौती सामना गरिरहेका हुन्छन्। यस्ता समस्यालाई मध्यनजर गर्दै शिम्मीले विगत एक दशकभन्दा बढी समयदेखि अंग्रेजी भाषा कक्षा, मोबाइल शिक्षा कार्यक्रम तथा सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छन्।
वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाको रूपमा काम गर्दै आएकी उनले विभिन्न सामुदायिक तथा गोर्खा सैनिकसँग सम्बन्धित संस्थासँग सहकार्य गरी यी कार्यक्रम सञ्चालन गरिरहेकी छन्।
शिम्मीको काम केवल सहयोग पुरयाउने मात्र नभई वृद्धावस्थाका महिलाहरूको आत्मविश्वास, सम्मान र स्वतन्त्रता पुनःस्थापित गर्ने लक्ष्यमा केन्द्रित छ। उनले वृद्धाहरूलाई बेलायती समाजमा सहज रूपमा घुलमिल हुन र आफ्नो आवाज अभिव्यक्त गर्न प्रेरित गर्दै आएकी छन्।
सामाजिक सेवासँगै शिम्मीले बेलायतमा नेपाली कला, संस्कृति प्रवर्द्धनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनले सांस्कृतिक कार्यक्रम, परोपकारी फेसन शो आयोजना गर्ने तथा दोस्रो पुस्ताका बेलायती नेपाली बालबालिकालाई नेपाली नृत्य र भाषा सिकाउने काम गर्दै आएकी छन्।
आमाको निधनपछि आफ्नो समाजसेवाको भावनालाई झन् दृढ बनाएकी उनी सम्झिन्छिन्, “आमाले सधैं भन्नुहुन्थ्यो — जे गरे पनि मनदेखि गर।”



