एनआरएनए यूकेद्वारा मध्यपूर्वमा जारी युद्ध तथा बढ्दो हिंसाको कडा शब्दमा निन्दा



लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले मध्यपूर्वमा जारी युद्ध तथा बढ्दो हिंसाको कडा शब्दमा निन्दा गरेको छ।
हिंसा र द्वन्द्वले निर्दोष जनतामाथि दुःख र पीडा मात्र थप्ने र विश्व शान्तिलाई गम्भीर खतरा पुर्याउने भन्दै एनआरएनए यूकेले सबै पक्षलाई संयमता अपनाउन र संवाद तथा शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आह्वान गरेको छ ।
साथै, एनआरएनए यूकेले बेलायत सरकारलाई युद्धमा संलग्न नहुन र यसको सट्टा द्वन्द्व अन्त्य तथा निर्दोष जीवनको रक्षा गर्न रचनात्मक भूमिका खेल्न पनि आग्रह गरेको छ।
एनआरएनए यूकेले मध्यपूर्वमा बसोबास गर्ने तथा काम गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन, सतर्क रहन र स्थानीय निकाय तथा नेपाली दूतावासहरूको निर्देशन पालना गर्न हार्दिक अपिल गरेको छ ।
“यस कठिन घडीमा एनआरएनए यूके सम्पूर्ण नेपाली समुदायसँग ऐक्यबद्धता व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
इजरायल र इरानबीच आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । यसले खाडी मुलुकमा कार्यरत लाखौं विदेशी श्रमिकसँगै नेपाली श्रमिकलाई पनि चिन्तित बनाएको छ । खाडी क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या करिब १९ लाख छ ।
इजरायल र अमेरिकाद्वारा इरानमाथि हमला
इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि त्यसको बदलामा इरानले पनि अमेरिका लक्षित आक्रमण सुरु गरेको छ ।
यसैबीच नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थालाई नजिकबाट नियालि रहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरेको छ ।
इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह तथा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


