बिहीबार, २६ फ्रेब्रवरी, २०२६
10:56 | १६:४१

विदेश बस्ने १३४ नेपाली पेशाकर्मीले गरे कांग्रेसलाई मतदान गर्न अपिल

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२६

लन्डन — विभिन्न मुलुकमा बसोबास गर्दै आएका १३४ जना नेपाली डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक लगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीहरूले आगामी ५ मार्चमा हुन गै रहेको आम निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न अपिल गरेका छन्।

एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आगामी निर्वाचनलाई नेपालको राजनीतिक भविष्यका लागि ऐतिहासिक र निर्णायक अवसरको रूपमा व्याख्या गरेका छन्।

उनीहरूका अनुसार यो निर्वाचन केवल नियमित आवधिक प्रक्रिया मात्र नभई पछिल्लो समय विशेषगरी युवापुस्तामा देखिएको असन्तोष र परिवर्तनको आकांक्षापछिको महत्वपूर्ण मोड पनि हो।

विज्ञप्तिमा नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया सुरु भएको जनाउँदै “बदल्यौं पार्टी, अब बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको उल्लेख गरिएको छ ।

विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डो-याउन सक्ने उल्लेख छ।

गैरआवासीय नेपालीहरूले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन् ।

नेपाली काँग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मुलुकको रुपान्तरणकारी र स्पष्ट मार्गदर्शन सहितको भिजन र कार्ययोजना ल्याएकाले यो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रुपमा उपस्थित भएको विज्ञप्तिका एकजना हस्ताक्षरकर्ता तथा अमेरिकास्थित प्राध्यापक डा यादव पण्डितले जनाए।

उनले वंशजको नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन लगायत मुद्दामा नेपाली कांग्रेसले स्पष्ट प्रतिबद्धता ल्याएको र अरु दलहरुको लोकतन्त्र प्रतिको आस्थाको अझै परीक्षण हुन बाँकी रहेकाले नेपाली कांग्रेसको विकल्प मुलुकमा अझै स्थापित भै नसकेको पनि बताए।

संयुक्त विज्ञप्तिमा अहिले मुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई रहेको उल्लेख गर्दै छिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ।

नेपाल लामो समयदेखिको राजनीतिक संक्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको जनाउँदै यसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।

संसार भरिरहेका लोकतन्त्रवादी बुद्धिजीवीहरुले आगामी संसद् संख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताउँदै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाहरुको सुरक्षित भविष्य सुनिश्चित गर्न कांग्रेसलाई नै जिम्मा दिनु पर्ने जनाएका छन्।

विज्ञप्तिमा सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै मुलुकलाई स्थायित्व, सुशासन र दिगो विकासतर्फको यात्रामा अगाडी बढाउन नयाँ नेतृत्व सहित अगाडी बढेको कांग्रेसलाई नै अवसर दिनु पर्ने जिकिर गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू