मंगलबार, २४ फ्रेब्रवरी, २०२६
00:57 | ०६:४२

पशुपतिनाथ मन्दिर ग्लास्गोमा सर्वसम्मत अध्यक्ष निर्वाचित भए समाजसेवी काशीराम भण्डारी

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२६

फाइल तस्विर

लन्डन । स्कटल्याण्डको ग्लास्गोमा अवस्थित पशुपतिनाथ मन्दिरमा नयां नेतृत्व चयन भएको छ ।

पशुपतिनाथ मन्दिर ग्लास्गोको सोमबार सम्पन्न तेस्रो साधारण सभाले समाजसेवी एवं व्यवसायी काशीराम भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एनआरएनए स्कटल्याण्डका पूर्व अध्यक्ष एवं हालका प्रमुख संरक्षक सफल व्यवसायी भण्डारीको नेतृत्वमा ३ उपाध्यक्ष नरिश्वर खराल, परशुराम सापकोटा र कृष भटुवाल, सचिवमा डोली भट्ट, सहसचिवमा  देवेन्द्र गैरे, कोषाध्यक्षमा शर्मिला भण्डारी, सहकोषाध्यक्षमा पर्शुराम भण्डारीसहित १६ सदस्यीय समिति गठन भएको छ ।

नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारीले आफूलाई अध्यक्षको जिम्मेवारी दिएकामा सबैप्रति आभार व्यक्त गर्दै मन्दिरको विकास, पारदर्शी व्यवस्थापन र आर्थिक सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्ने अठोट व्यक्त गरे ।

एनआरएनए स्कटल्याण्डका सचिव माधव भण्डारीले अध्यक्ष भण्डारीको नेतृत्व, अनुभव र सामाजिक योगदानले मन्दिरको आगामी यात्रालाई अझ सुदृढ र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

उनले सबै मिलेर आफ्नो आस्था, संस्कृति र पहिचानको संरक्षण र ग्लास्गो पशुपति मन्दिरलाई अझ समृद्ध र सशक्त बनाउन अपिल पनि गरेका छन् ।

नेपाली समुदायका लागि महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा स्थापित ग्लास्गो पशुपति मन्दिर स्कटल्याण्डमा रहेका नेपाली हिन्दू समुदायको आस्था र विश्वासको केन्द्र मानिन्छ । स्थापना कालदेखि नै नेपाली समुदायको सक्रिय पहल, सहयोग र व्यवस्थापनमा सञ्चालन हुँदै आएको यस मन्दिरमा दैनिक रूपमा पूजारीद्वारा नियमित पूजा–आराधना हुँदै आएको छ। यसले यहाँ बसोबास गर्ने नेपालीहरूलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक रूपमा एकताबद्ध गरेको छ ।

यद्यपि मन्दिरको आर्थिक अवस्था सुदृढ नभएकाले यसको सञ्चालन दाताहरूको सहयोग, श्रद्धालुहरूको योगदान तथा समुदायको उदार समर्थनमा निर्भर छ। स–साना सहयोग र दानकै आधारमा मन्दिर व्यवस्थापन हुँदै आएपनि दीर्घकालीन स्थायित्वका लागि थप सशक्त आर्थिक योजना, कोषवृद्धि अभियान तथा सामूहिक योगदान आवश्यक देखिएको अग्रजहरुको बुझाइ छ ।

स्कटल्याण्डमा नेपाली समुदाय दिनप्रतिदिन बढ्दो क्रममा छ । रोजगारी, व्यवसाय, अध्ययन र विभिन्न पेशामा संलग्न नेपालीहरू यहाँ आफ्नो पहिचान मजबुत बनाइरहेका छन्। यस्तो अवस्थामा नेपाली भाषा, संस्कृति, परम्परा र धर्म संरक्षणमा यस्ता मन्दिरहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू