आइतबार, २२ फ्रेब्रवरी, २०२६
04:00 | ०९:४५

बेलायतमा दुई दशक अघि लुटिएको करोडौं पाउण्ड अझै रहस्यमय

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२६

लन्डन । बेलायतको इतिहासकै सबैभन्दा ठूलो र सनसनीपूर्ण मानिएको ‘सेक्युरिटास डिपो’ डकैती भएको २० वर्ष पूरा भएको छ।

सन् २००६ फेब्रुअरी २१ मा बेलायतस्थित केन्टको टनब्रिजमा भएको उक्त लुटपाटको घटनाले दुई दशक बितिसक्दा पनि बेलायती जनमानस र सुरक्षा निकायलाई अझै आश्चर्यचकित पारेको  छ। त्यसबेला करिब ५ करोड ३० लाख पाउण्ड लुटिएको यो घटनाको बारेमा अझसम्म कुनै टुंगो लागेको छैन।

घटना केन्टस्थित सेक्युरिटासको नगद भण्डारण गरिने डिपोमा भएको थियो। लुटेराहरूले डिपो म्यानेजर कोलिन डिक्सन र उनको परिवारलाई बन्धक बनाएर योजनाबद्ध रूपमा डिपोभित्र प्रवेश गरेका थिए। त्यसपछि बन्दुकधारी समूहले १४ जना कर्मचारीलाई पिँजडाभित्र थुनेर ठूलो परिमाणमा नगद लुटेर फरार भएका थिए।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, लुटेराहरूले प्रयोग गरेको ट्रकमा ठाउँ अभाव भएपछि १५ करोड पाउण्डभन्दा बढी रकम डिपोमै छोडिएको थियो। घटनास्थल पुगेका अनुसन्धानकर्ताहरूले यति ठूलो परिमाणमा नगद एकै ठाउँमा देख्दा आश्चर्य व्यक्त गरेका थिए।

केन्ट प्रहरी चिफ कन्स्टेबल टिमका अनुसार अझै पनि करिब ३ करोड २० लाख पाउण्ड रकम फेला परेको छैन र कम्तीमा एक मुख्य अभियुक्त अझै फरार छ।

प्रहरीले त्यतिबेला प्रचलनमा रहेका कागजी नोटहरू लामो समयसम्म जमिनमुनि गाडिएका कारण सडिसकेको हुन सक्ने अनुमान गरेको छ। यद्यपि केही नोटहरू बजारमा पुगेको वा अन्य आपराधिक गतिविधिमा प्रयोग भएको हुन सक्ने आशंका पनि छ।

यस प्रकरणमा संलग्न रहेको आरोपमा सन् २००८ मा पाँच जनालाई लामो जेल सजाय सुनाइएको थियो। अदालतले उनीहरूलाई लुटिएको रकम बराबर जरिवाना तिर्न आदेश दिए पनि अधिकांशले सम्पत्ति नभएको दाबी गर्दै नाम मात्र रकम बुझाएका थिए।

डकैतीको २० वर्ष पुगेको अवसरमा प्रहरीले फरार अभियुक्तको खोजी र बाँकी रकम सुराकीका लागि पुनः सार्वजनिक अपिल जारी गरेको छ। प्रहरीका अनुसार, ‘यो बेलायतको आपराधिक इतिहासको सबैभन्दा ठूलो नगद लुटमध्ये एक भएकाले यसको पूर्ण समाधान अझै प्राथमिकतामै छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू