शनिबार, २१ फ्रेब्रवरी, २०२६
17:16 | २३:०१

कुटुम्ब र विपुल क्षेत्री २५ तारिख लन्डन उत्रंदै, संगीत महोत्सव तयारी पूरा

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२६

विपुल एन्ड द ट्राभलिङ ब्यान्ड

लन्डन– लन्डनमा पहिलोपटक हुन लागेको ‘नेपाल म्यूजिक फेस्टिभल २०२६’ का लागि ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ सम्मिलित १६ सदस्यहरु २५ फेब्रुअरी बेलुका लन्डन उत्रने भएका छन् ।

लन्डनमा पहिलोपटक एकसाथ स्टेज शेयर गर्न लागेका दुवै ब्यान्ड सदस्यहरुलाई आयोजक मामाघर इन्टरटेनमेन्ट यूकेले विमानस्थलमा न्यानो आतिथ्य प्रदान गर्ने योजना छ ।

२८ फेब्रुअरी शनिबार लन्डनको ऐतिहासिक एवं प्रतिष्ठित भेन्यू ट्रोक्सीमा ‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ गुन्जंदै छन् ।

परम्परागत नेपाली लोक–वाद्य संगीतलाई आधुनिक शैलीमा विश्वभर चिनाउन सफल छ कुटुम्ब । यसले सारङ्गी, बाँसुरी, मादललगायत मौलिक नेपाली बाजाका माध्यमबाट नेपाली लोकधुनलाई जीवन्त बनाउँदै आएको छ ।

सारङ्गी बजाउन मात्र यसपटक कुटुम्बका दुईजना वाद्यवादक किरण नेपाली र प्रिन्स नेपाली लन्डन आउंदैछन् ।

उता, नेपाली लोक पप शैलीका गीतहरुबाट पछिल्लो पुस्तामाझ चर्चित गायक विपुल र उनको ‘द ट्राभलिङ ब्यान्ड’ का ‘सिन्डिकेट’, ‘असार’, ‘सिरिरी’, ‘राम साइली’ आदि चर्चित गीत हुन् ।

कुटुम्ब

कन्सर्ट तयारी पूरा भइसकेको मामाघर इन्टरटेनमेन्ट यूकेका निर्देशक विमल तिमिल्सिनाले जनाए । नेपाली संगीत, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्धन गर्ने उद्देश्यसहित ‘नेपाल म्यूजिक फेस्टिभल’ गर्न लागिएको तिमिल्सिनाले बताए ।

नेपाल म्यूजिक फेस्टिभल २०२६ ले बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा जोड्दै नेपाली संगीत र संस्कृति प्रवर्धनमा योगदान दिने तिमिल्सिनाको विश्वास छ ।

मामाघरले गत वर्ष लन्डनकै अर्को प्रतिष्ठित भेन्यू ओटुमा कन्दरा ब्याण्डको ऐतिहासिक कन्सर्ट गरेको थियो ।

सन् १९३० को दशकमा निर्मित ‘ट्रोक्सी’ उत्कृष्ट साउन्ड सिस्टम, भव्य स्टेज र विशाल दर्शक क्षमताका कारण प्रतिष्ठित छ । लाइमहाउस स्टेशन नजिक अवस्थित यो एतिहासिक भेन्यूमा बलिउड, हलिउडका नामी कलाकारले समेत प्रस्तुति गर्ने गरेका छन् ।

कन्सर्टका लागि सिट संख्या सिमित रहेकाले यथासक्य चांडो आफ्नो स्थान सुरक्षित गर्न आयोजकको आग्रह छ ।

बेलायत भ्रमणका क्रममा दुवै व्याण्डले अन्य कन्सर्ट गर्ने छैनन् तर लन्डन घुमघाम एवं विभिन्न ‘मिट एण्ड ग्रीट’ राखिएको छ ।

‘कुटुम्ब’ र ‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ सदस्यहरु मार्च १ तारिख दिउसो बन्टओक नेपलिज समाज घरमा गएर नेपाली भाषा कक्षा लिइरहेका बालबालिकासंग भेटघाट गर्ने कार्यक्रम छ ।

‘विपुल एन्ड द ट्राभलिङ ब्यान्ड’ मार्च १ र ‘कुटुम्ब’ मार्च ३ मा स्वदेश फर्कनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू