बुधबार, १८ फ्रेब्रवरी, २०२६
01:00 | ०६:४५

महाशिवरात्रि पर्वमा शिव मन्दिर अल्डरसटमा चौबीसै घण्टा पूजा आराधना र भजन

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२६

लन्डन । शिव मन्दिर अल्डरसटमा गत फेब्रुअरी १५ मा महाशिवरात्रि पर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा–आराधना र भजनकीर्तनका साथ चारवटै प्रहरको शिवपूजा र आराधना गरियो । १५ तारिख बिहान ७ देखि भोलिपल्ट ७ बजेसम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना र भजन भएको मन्दिरका अध्यक्ष हरि भट्टराईले जनाए ।

यस वर्ष दुई हजार भक्तजनहरुले दर्शन गरेको अनुमान छ ।

शिवरात्रिको पूर्वसन्ध्यामा शिव मन्दिर कार्यसमितिका पदाधिकारीहरु र सम्पूर्ण भोलेन्टियर टिमको सहयोगमा मन्दिरमा भौतिक संरचनामा सुधार गर्दै शिवरात्रि भव्य बनाउन मन्दिरका अध्यक्ष हरिभट्टराईको संयोजकत्वमा विशेष पहल भएको थियो । मन्दिर दर्शनका लागि अल्डरसट, फानबोरो, क्याम्बर्ली, गिलफोर्ड, ब्रेकनेल, लण्डन, आसफोर्ड लगायत यूकेका धेरै शहरबाट भक्तजनहरुको सहभागिता थियो ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनहरुको सहजताका लागि दिनभरि नै प्रसाद वितरण गरेको थियो भने करिब १००० भक्तजनले प्रसाद ग्रहण गरेको प्रसाद व्यवस्थापनमा खटिएकी पाकशाला संयोजक विमला भट्टराईले बताइन् । दिनभरिको मन्त्रको गुन्जन, संगीतमय भजन कीर्तन र निरन्तरको प्रसाद वितरणले मन्दिरको वातावरण भक्तिमय र आनन्दित बनाएको भक्तहरुको प्रतिक्रिया थियो ।

विगतका वर्षहरुभन्दा यसवर्ष धेरै भीड र भक्तजनको सदाशयता र सहयोगले विशेष रमाइलो भएको उपाध्यक्ष तथा शिवरात्री कार्यक्रम संचालक सुष्मा गुरुङले जनाइन् ।

मन्दिरमा बिहान ८ बजे, बेलुका ५ बजे, राति १२ बजे र बिहान ४ बजे अभिषेकको साथमा विशेष अर्चना र आरती तथा दिनभरिनै गुरुहरुद्वारा रुद्राभिषेक र भक्तहरुको इच्छा अनुसार पूजा भएको मन्दिरका आचार्य गुरु मधुसूदन सत्यालले बताए ।

शिवतत्वको चर्चासहित भएको रुद्राभिषेकमा भक्तजनहरुको विशेष उपस्थिति थियो । यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक जागरण र आध्यात्मिक उन्नयन हुने विश्वास शिव मन्दिर परिवारले गरेको छ ।

कार्यक्रममा विशेषगरी अध्यक्ष हरि भट्टराई, उपाध्यक्ष सुष्मा गुरुङ, महासचिव निरज शर्मा, सहसचिव निरज तिवारी र कोषाध्यक्ष किशोर गुरुङको साथमा कल्चरल सेक्रेटरीद्वय रुपेश काफ्ले तथा प्रणव थोटम, युवराज खत्री, सुनिल तिमल्सेना, अनिता गुरुङ, भजन संयोजक विष्णु थापा, रोहित गुरुङ तथा सम्पूर्ण पदाधिकारीहरु, पूर्व अध्यक्ष विक्रम भट्टराई, ट्रष्टीहरु र प्याट्रोन काउन्सिलका सदस्यहरुसंगै विविध संघसंस्थाका विशेष प्रतिनिधिहरुको सहयोग र आपसी सामन्जस्यताले कार्यक्रम पूर्ण सफल भएको आयोजकको भनाइ छ ।

आगामी दिनमा यस्ता कार्यक्रमले समाजमा धर्म संस्कार, संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरण पनि गराउने विश्वास शिव मन्दिर परिवारको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू