बिहीबार, १२ फ्रेब्रवरी, २०२६
17:59 | २३:४४

लन्डन पशुपतिनाथ मन्दिरमा महाशिवरात्री विशेष कार्यक्रम, के-के हुंदैछ दिनभर ?

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२६

फाइल तस्विर: मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा ट्रष्टीहरु।

लन्डन- लन्डन प्लमस्टेडस्थित श्री पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्वका दिन यही १५ फेब्रुअरी आइतबार ‘महाशिवरात्री विशेष कार्यक्रम’ आयोजना हुने भएको छ ।

यस वर्ष पनि विगत जस्तै महाशिवरात्री पूजा, रुद्राभिषेक, आरती तथा भजन–कीर्तनसहितको धार्मिक तथा सांस्कृतिक कार्यक्रम दिनभर सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सो अवसरमा स्थानीय नेपाली समुदायबाट १५ सयभन्दा बढी दर्शनार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेका अनुसार महाशिवारात्रीका दिन बिहान ७ देखि बेलुका ८ बजेसम्म मन्दिर खुला रहनेछ। बिहान ८ बजेदेखि दिनभर रुद्राभिषेक तथा साँझ ६ बजे विशेष पूजा सञ्चालन गर्ने कार्यक्रम छ ।

बिहान १० बजे, मध्यान्ह १२ बजे तथा दिउँसो २ बजे र ४ बजे विशेष आरती गरिनेछ। मध्यान्ह १२ बजेदेखि चिया- प्रसाद वितरण सुरु हुनेछ।

दिनभर धार्मिक विधिअनुसार सामूहिक पूजा आराधना र भक्तिमय भजन–कीर्तनको कार्यक्रम निरन्तर रहनेछ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले लन्डन र आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई महाशिवरात्रीको अवसरमा मन्दिरमा आयोजना हुने विशेष कार्यक्रमा सहभागी हुन अपील गरेका छन्।

दर्शनार्थीको सुविधा र सहजतालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सबै तयारी गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

मन्दिरले सबै आगन्तुक दर्शनार्थीका लागि चिया, कफी तथा प्रसादको व्यवस्था समेत गरेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू