साझा नेपाली समाज यूके एक ढिक्का, उपाध्यक्ष शिव खरालको राजीनामा फिर्ता



गत ५ जनवरीमा सम्पन्न समाजको आठौँ अधिवेशन
लन्डन- साझा नेपाली समाज यूकेमा हालै सम्पन्न अधिवेशनका क्रममा देखिएको मतभेद अन्त्य भएसंगै समाज पुनः एक ढिक्का बनेको छ ।
संस्थामा वृहत एकताको सन्देश दिंदै समाजका उपाध्यक्ष शिव खरालले यसअघि आफ्नो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
समाजको हित, एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै उनले २०२५–२०२७ कार्यसमितिमा उपाध्यक्षको हैसियतले निरन्तर जिम्मेवारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
गत ५ जनवरीमा सम्पन्न समाजको आठौँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहेका खरालले संस्थालाई सर्वसम्मत, एकिकृत र बलियो नेतृत्व दिनुपर्ने उद्देश्यसहित स्वेच्छाले उम्मेदवारी फिर्ता लिएका थिए।
सो क्रममा उत्पन्न केही मतभेद र भ्रमप्रति उनले क्षमायाचना गर्दै संस्थागत एकतालाई सर्वोपरि राखेको उल्लेख गरेका छन्।
यसअघि उपाध्यक्ष पदबाट दिएको राजीनामापछि मिडिल्यान्ड क्षेत्रका विभिन्न सामाजिक व्यक्तित्वहरू, सहमति समितिका सदस्यहरू तथा शुभेच्छुकहरूको निरन्तर आग्रह, सुझाव र अनुरोधलाई गम्भीर रूपमा मनन गर्दै समाजको दीर्घकालीन हितलाई ध्यानमा राखी राजीनामा फिर्ता लिने निर्णयमा पुगेको जानकारी उनले दिएका छन्।
‘मिडल्यान्डमा अझ सशक्त, एकीकृत र उदाहरणीय साझा संस्था बनाउने उद्देश्यका साथ म उपाध्यक्षको भूमिकामा निःस्वार्थ र जिम्मेवारीपूर्वक काम गर्नेछु’, खरालले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्।
उपाध्यक्ष खरालको राजीनामा फिर्तापछि साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांलले सहमति, सहकार्य र संस्थागत एकता सुदृढ बनेको भन्दै खुशी व्यक्त गरेका छन् ।
समाजभित्र देखिएका मतभेद संवाद र सहकार्यमार्फत समाधान गर्दै अघि बढ्ने वातावरण निर्माण गर्न आफूहरु सधै तत्पर रहने महासचिव सशांक शर्माले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


