बिहीबार, ५ फ्रेब्रवरी, २०२६
22:54 | ०४:३९

लन्डनमा मोटरसाइकल दुर्घटनामा नेपाली युवाले गुमाए ज्यान

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२६

लन्डन- लन्डनमा भएको मोटरकाइकल दुर्घटनामा एक जना नेपालीको दुःखद निधन भएको छ ।

लन्डन हिथ्रो विमानस्थल टर्मिनल चार नजिक साउदर्न पेरिमिटर रोडमा बुधबार बिहान दुर्घटना हुंदा ४० वर्षीय रोशन अधिकारीको मृत्यु भएको उनको परिवारनिकट व्यवसायी महेन्द्र कुंवरले नेपालीलिंकसंग पुष्टि गरे।

बिहान करिब ८ बजेतिरको समयमा अधिकारीले चलाएको मोटरसाइकल हुत्तिएर सडकछेउको ब्यारिएरमा ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटना भएको केही मिनेटभित्रै पुगेको एम्बुलेन्स प्यारामेडिक टोलीले उनलाई बचाउने कोशिस गरेपनि सफल नभएपछि घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

बिहान मोटरसाइकल चढेर काममा जाने क्रममा उनी दुर्घटनामा परेका थिए ।

नेपाली लिंकलाई प्राप्त जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाएका अधिकारी दुर्घटनास्थलनजिकै लन्डन फेल्थाममा परिवारसंगै बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका बाबुआमा भने नेपालमै छन् ।

स्वर्गीय अधिकारीको नेपाल घर काठमाडौं कलंकी हो। पछिल्लो १२ वर्षदेखि उनी बेलायतमा बस्दै आएका थिए ।

स्वर्गीय अधिकारीको अन्त्येष्टि यही फेब्रुअरी १६ मा लन्डन फेल्थाममै हुने तय भएको पारिवारिक स्रोतले जनाएको छ।

दुःखद दुर्घटनामा मृत्युवरण गरेका स्वर्गीय रोशन अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली र उनको वियोगले अकल्पनीय शोकमा डुबेको उनको परिवारप्रति हार्दिक समवेदना !

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू