बुधबार, ४ फ्रेब्रवरी, २०२६
23:54 | ०५:३९

बेलायतमा निधन भएका विद्यार्थीको शव नेपाल पठाउन चन्दा संकलन शुरु

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२६

लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउन चन्दा संकलन शुरु भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले परिवारको अनुरोध बमोजिम शव नेपाल पठाउन गो फण्ड मीमार्फत चन्दा संकलन शुरु गरेको हो ।

७ हजार पाउण्ड उठाउने लक्ष्यसहित शुरु गरिएको यस अभियानमा बुधबार सांझसम्म ८६ जनाले २ हजार ३३१ पाउण्ड सहयोग गरिसकेका छन् ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय मण्डलको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्न चाहेको, परिवारको आर्थिक अवस्था राम्रो नभएको र बेलायतमा मण्डल नजिकका आफन्त पनि कोही नभएकाले क्राउड फण्डिङबाट अर्थ संकलन गरि शव नेपाल पठाउन लागिएको जनाए ।

‘सानो डोनेसन किन नहोस्, तपाईंहरुको सहयोगले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ । कृपया सक्दो आर्थिक सहयोग गरिदिनुस्, यदि तपाईं दान गर्न असमर्थ हुनुहुन्छ भने लिंक सेयर गरेर भएपनि सहयोग गरिदिनुस्’, पुडासैनीले अपिल गरे ।

हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा सोमबार निधन भएको थियो । आइतबार श्वास प्रश्वासमा एक्कासी समस्या आएपछि मण्डल अस्पताल भर्ना भएका थिए तर दुर्भाग्य चिकित्सकले बचाउन सकेनन् ।

सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

सहयोगका लागि यस लिंकमा जानुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू