शुक्रबार, ६ फ्रेब्रवरी, २०२६
20:00 | ०१:४५

लन्डनका सडकमा चालकविहीन ट्याक्सी गुडाउने तयारी

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२६

लन्डन । लन्डनका सडकमा चालकविहीन ट्याक्सी (रोबोट्याक्सी) गुड्ने भएका छन् ।

गुगलले परीक्षणका लागि तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

अल्फाबेट अन्तर्गतको सेल्फ–ड्राइभिङ कार डिभिजन वेमोले सन् २०२६ अन्त्यसम्म लन्डनमा चालकविहीन ट्याक्सी सेवा सुरु गर्ने तयारीलाई तीव्रता दिएको हो ।

हाल, वेमोले लन्डनका १९ प्रमुख क्षेत्र र लन्डन सिटीमा अत्याधुनिक जगुआरका विद्युतीय गाडीहरू प्रयोग गरेर सडकको विस्तृत म्यापिङ, सुरक्षा प्रमाणीकरण, र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) तालिम सञ्चालन गरिरहेको छ। यी गाडीहरूमा ३६० डिग्री क्यामेरा, लिडर, र राडार प्रविधि प्रयोग गरिएको छ, जसले ५०० मिटरसम्मको दूरीमा वस्तुहरू पत्ता लगाउन सक्छ।

कम्पनीले अप्रिल २०२६ देखि यात्रुसहितको ‘रोबोट्याक्सी’ परीक्षण सुरु गर्ने र सेप्टेम्बरसम्म पूर्ण व्यावसायिक सञ्चालनमा लैजाने लक्ष्य लिएको छ। हाल परीक्षणका क्रममा गाडीहरूमा मानव सुरक्षा चालकहरू रहनेछन्, तर पूर्ण व्यावसायिक सञ्चालनमा कुनै मानव चालक हुनेछैन।

बेलायत सरकारले अटोमेटेड भेइकल्स एक्ट, २०२४ मार्फत चालकविहीन सवारीलाई कानुनी मान्यता दिने बाटो खोलिसकेको छ। यस ऐनले सुरक्षा नियमहरू, कानुनी जिम्मेवारी, र नियामक शक्ति निर्धारण गरेको छ जसले सञ्चालनकर्ता, प्रविधि विकासकर्ता र निर्माताहरूलाई लगानी गर्न आत्मविश्वास दिनेछ।

यात्रुहरूले वेमो वन मोबाइल एपमार्फत ट्याक्सी बुक गर्न सक्नेछन्। गाडी आइपुगेपछि क्यूआर कोड स्क्यान गरी यात्रा सुरु हुनेछ, र गाडीमा स्पोटिफाई र युट्युब म्यूजिक जस्ता स्ट्रिमिङ सेवाहरू सिङ्क्रोनाइज गर्न सकिनेछ।

कम्पनीको दाबी छ कि यो सेवा परम्परागत ब्ल्याक क्याब र उबर समेतको तुलनामा २० देखि ३० प्रतिशतसम्म सस्तो हुनेछ। साथै, चालक नभएकाले टिप्स दिनुपर्ने झन्झट पनि रहनेछैन् । तर, अमेरिकामा भएको अनुभव अनुसार लन्डनमा पनि यो सेवा मानव चालकद्वारा सञ्चालित ट्याक्सीहरूभन्दा महँगो हुन सक्छ।

वेमोको दाबी छ कि यी गाडीहरू मानव चालकभन्दा बढी सुरक्षित हुनेछ । तथ्याङ्कले वेमो सञ्चालन भएका सडकहरूमा मानव चालकहरूको तुलनामा चोटपटक हुने दुर्घटना पाँच गुणा कम र पैदल यात्रुसँग भएका चोटपटक हुने दुर्घटना १२ गुणा कम रहेको देखाएका छन्।

यात्राका क्रममा कुनै समस्या आए रिमोट सपोर्टमार्फत विशेषज्ञसँग तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था रहनेछ। शून्य उत्सर्जन भएका यी विद्युतीय ट्याक्सीहरूले लन्डनको वायु प्रदूषण घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, लन्डनका परम्परागत ब्ल्याक क्याब चालकहरूले चालकविहीन सेवाले आफ्नो रोजगारीमा नकारात्मक असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै यात्रुहरूको डेटा सुरक्षाबारे पनि वहस चलिरहेको छ ।

वेमोले लन्डनमा सफल परीक्षणपछि अन्य बेलायती सहरहरूमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ। यदि यो सेवा लन्डनमा सफल भयो भने आगामी वर्षमा बेलायतका अन्य प्रमुख शहरमा पनि चालकविहीन ट्याक्सी सेवा विस्तार हुने सम्भावना उच्च छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू